१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निःशुल्क एम्बुलेन्स उपलब्ध

प्रकाशित मिति :  २५ फाल्गुन २०७७, मंगलवार १२:३८


वीरगञ्ज  । राको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले राससलाई बताउनुभयो । मुटु, मिर्गाैलालगायतका दीर्घरोगीलाई उपचार खर्चको लागि वार्षिक विस हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाभित्र सुरक्षित सुत्केरी गराउन चार वटा बर्थिङ सेन्टर स्थापना गरिने, स्वास्थ्य क्षेत्रको सुधारको लागि वार्षिक  ८० लाख रुपैया उपलब्ध गराउँदै आएकोमा आउँदो आर्थिक वर्षदेखि सो रकम बढाएर  एक करोड ५० लाख रुपैया बजेट छुट्याउने, कृषि क्षेत्रमा  एक करोड ५० लाख रुपैया , पर्यटकीय क्षेत्रको विकासको लागि शक्तिपिठ गढीमाई मन्दिर, पाटीपौवा, पोखरी सौन्दर्यीकरणको लागि  एक करोड ५० लाख रुपैपया रकम विनियोजन गर्ने योजना रहेको नगरप्रमुख यादवले बताउनुभयो ।

जम्मा ११ वडा रहेको सो पालिकामा ६५ हजार  जनसङ्ख्या छ । नगरपालिकाभित्र वातावरण संरक्षणको लागि चार हजार बोटबिरुवा रोपिने, शौचालयको सरसफाइको लागि न्यूनतम मूल्यमा सफाइ मेसिन उपलब्ध गराउने निर्णय भएको छ । वडा नं ४ मल्हनी टोलमा रहेको बालविकास प्राथमिक विद्यालय विद्यार्थीबिना सञ्चालनमा रहेकोले विद्यार्थी ल्याउन घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।

करीब २० वर्ष पुरानो विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द गरेकाले विद्यार्थी अन्यत्र गएपछि विद्यार्थीविहीन भएको थियो । राससमा सो विद्यालय सम्बन्धमा ‘विद्यालय छ विद्यार्थी छैन’ भन्नेबारे समाचार आएपछि नगरपालिकाले घरदैलो कार्यक्रम थालेको नगरप्रमुख यादवले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शर्मानन्दप्रसाद साहले राससलाई भन्नुभयो,“व्यवस्थापन समितिविहीन रहेको सो विद्यालयमा घरदैलो कार्यक्रम सञ्चालन गरेपछि अहिले करीब ५० विद्यार्थी पढन थालेका छन् । ‘ विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी मात्र रहेकोमा नगरपालिकाले थप एक शिक्षक पठाउने भएको छ ।’

अहिले कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा अब उप्रान्त कक्षा ५ सम्म पठनपाठन हुने व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।

-रासस



प्रतिक्रिया दिनुहोस !