१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उमेरले नछेकेको रहर

प्रकाशित मिति :  २५ फाल्गुन २०७७, मंगलवार १२:२९


– दयाराम आचार्य

कावासोती । ‘पहिले छोरीचेलीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक  हुँदैनथ्यो त्यसैले पढ्ने रहर मार्नु पथ्र्यो, आज त्यही रहर पूरा गरिरहेको छु ‘ , ६७ वर्षीय पे्रमकुमारी पौडेलले भन्नुभयो ।

सानोमा विद्यालय देख्न नपाएको बताउने उहाँ अहिले बिहान ११ बज्नै लाग्दा झोलामा किताब कापी लिएर विद्यालयमा पढ्न निस्कनु दैनिकी बनेको छ । कावासोती नगरपालिका–२ मा शिव सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको गृहिणी शिक्षा (अनौपचारिक प्रौढ शिक्षा) मा अध्ययन गर्न उहाँ जस्तै अन्य महिला पनि आउने गर्नुभएको छ ।

अध्ययन गर्ने उमेरमा विभिन्न कारणले नपाएका गृहिणी बिहान ११ देखि ३ बजेसम्म यहाँ रहन्छन् । अहिले पढ्ने मौका पाउँदा धेरै खुशी लागेको पौडेलले बताउनुभयो । दुई वर्षदेखि यहाँ पढन थाल्नुभएकी उहाँले अहिले छोराछोरीको नाम अङ्गे्रजीमा लेख्न, मोबाइलमा पैसा राख्न, सजिव, निर्जीव वस्तु चिन्न सक्दा दङ्ग हुनुहुन्छ । ‘ मलाई अहिले आफू बच्चै भएको जस्तो लागेको छ, खुशी लागेको छ, घरबाट हिँडेर आउनसक्ने बेलासम्म र सिकाइ केन्द्रमा पढन पाउँदासम्म आउछु ‘ , पौडेलले भन्नुभयो, ‘बच्चामा पढन् नपाएको रहर मेटिएको झैँ लागेको छ, अहिले तिर्खा यही पढाइले मेटे जस्तो हुन्छ ।

‘ स्याङ्जा सतुङ्गा जन्मनु भएकी उहाँ त्यति बेला गाउँमा ५ कक्षा सम्मको विद्यालय भएको भए पनि छोरालाई पढाउने, छोरीलाई नपढाउने चलन रहेको सम्झनुहुन्छ । ‘ छोरी त कोदो रोप्ने, घाँस, दाउरा गर्ने, गाई बस्तु चराउने यस्तै गर्नुपर्याे , दाजुभाइ स्कुल जानुहुन्थ्यो ‘ , पौडेलले भन्नुभयो । त्यस्तै ६५ वर्षीय चन्द्रमाया सिग्देललाई पनि सानोमा पढ्न नपाएर अहिले अक्षर चिन्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो ।

‘ विद्यालय टाढा हुन्थ्यो, छोरीलाई पढाउन पठाउने चलननै कम थियो ‘ , सिग्देलले भन्नुभयो,’ अहिले कतै जाँदा के लेखेको छ भनेर चिन्न सक्ने भएकाले सजिलो भएको छ । कतै गए कहाँ आइएछ भनेर ठाउँ चिन्न सकिन्छ ‘, सिग्देलले भन्नुभयो, ‘खुशी लाग्छ ।’ पौडेल र सिग्देल जस्तै यहाँ कावासोतीका करीब ४२ गृहिणी भर्ना भएका छन् ।

यहाँ तीन तहको पढाइ हुने सिकाइ केन्द्रकी परिचालक नूतन थापा पुनले बताउनुभयो । भर्ना भएकोमा केही समय मिलाएर फुर्सदमा आउने गरेको भए पनि करीब २५ जना नियमितजसो आउने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाको सहयोगमा अहिले कक्षा सञ्चालन भइरहेको छ । यसले विद्यालय उमेर पुगेर पनि विद्यालय जान नपाएकालाई अध्यन गर्न सहज बनाएको छ ।

-रासस



प्रतिक्रिया दिनुहोस !