१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

व्यक्तिले गरेको गल्तीको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा

प्रकाशित मिति :  १४ जेष्ठ २०८०, आईतवार १३:४२


काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताउनुभएको छ ।

सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोप्रति असहमति जनाउँदै त्यस्तो गर्न नहुने बताउनुभयो ।

सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानूनअनुसार कारबाही गर्ने प्रावधान पनि गणतन्त्रमा रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै उहाँले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताउनुभयो ।

मन्त्री शर्माले सङ्घीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउनका लागि सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको जानकारी दिनुभयो । उहाँले प्रविधिको विकासलगायत कारण रेडियो, टेलिभिजन र छापा माध्यमकै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामग्री उत्पादन गर्न सके आमसञ्चार माध्यमको भविष्य सधैँ उज्यालो रहेको बताउनुभयो ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि परेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मूल प्रवाहीकरणका लागि सरकारले अझै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रमको कार्यान्वयन हुन नसकिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै यसमा सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सीआईएनले खास गरी दूरदराजका समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सीआईएनबीच सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले छापाखाना वा सूचना सञ्चार माध्यमले पनि व्यक्तिको गोपनीयताको हकको ख्याल गर्दै सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट सम्प्रेषण हुने सामग्री औषधिको रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्कटको साथी रेडियो भएकाले यसको व्यवस्थापनमा जुट्न सबैसँग आग्रह गर्नुभयो ।

अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले १९ वटा रेडियो आबद्ध भएर सुरु गरेको सीआईएन दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क बन्न सकेको र समुदायको आवाज मुखरित गर्न सफल भएकोमा प्रशंसा गर्दै पहरेदारको भूमिकामा सधैँ खटिइरहन सुझाव दिनुभयो ।

स्थापना दिवसको अवसरमा सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र रेडियो मध्यपश्चिम दाङका सुशीला ओली उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मानित हुनुभएको छ । तीनै जनालाई मन्त्री शर्माले जनही रु १५ हजार पुरस्कारसहित सम्मान गर्नुभयो ।
–रासस



प्रतिक्रिया दिनुहोस !