१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसद् कुनै कन्सर्ट हल बिदा मनाउन जाने ठाँउ होइन : सरस्वती सुब्बा

प्रकाशित मिति :  २ जेष्ठ २०८०, मंगलवार १६:२२


काठमाडाैं । नेकपा एमालेकी सांसद् सरस्वती सुब्बाले सांसद्ले संसद्‍मा राष्ट्रिय पाेशाक लगाउनु आफैंमा मर्यादित र आफूप्रति अनुशासित हुनु रहेकाे बताउनुभएकाे छ ।

नागरिकले सांसदहरूलाई कन्सर्ट चलाउन नभइ नीति निर्माण गर्नका लागि अमूल्य मत दिएर जिताएर पठाएका सांसद् सुब्बाले मंगलबार सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।

‘संसद्‍मा महिला सांसद्ले सारी, चोलो, कोट, पुरुष सांसद्ले दौरा सुरुवाल कोट,सटपाइन्ट लगाउनु आफैंमा मर्यादित र आफूप्रति आफै अनुशासित हुनु हो, संसद‍्मा हामी सांसद्हरूलाई नागरिकले अमूल्य मत दिएर पठाएका कन्सर्ट चलाउन होइन, निति निर्माण गर्न बनेका नीति कार्यन्वयन गर्न हो, प्रचारका लागि नांगै नबसौं’- उहाँले लेख्नुभएकाे छ ।

आफ्नाे पाेशाकप्रति सामाजिक सञ्जालमा प्रश्न उठेपछि रास्वपाकी सांसद् सुमना श्रेष्ठले साेमबारकाे प्रतिनिधि सभा बैठकमा त्यसबारे जवाफ दिनुभएकाे थियाे । संसद‍्मा टी-सर्ट र जिन्स लगाउन रोक्‍नु नयाँ पुस्तामाथिकै रणनीतिक हमला भएकाे श्रेष्ठकाे भनाइ थियाे ।

श्रेष्ठकाे अभिव्यक्तिप्रति लक्षित गर्दै सुब्बाले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएकाे हाे । ‘संसद् कुनै कन्सर्ट हल बिदा मनाउन जाने ठाँउ होइन, जहाँ सजिलोको लागि भनेर जिन्स पाइन्ट र टिसर्टमा हिँड्ने, एउटा सांसद् सदस्य सभ्यताको प्रतिक पनि बन्न सक्नुपर्छ, आफूले लगाएको पोशाकबारे आफैं संसद्‍मा चर्को कुरा गर्दा चर्चामा त भइएला, तर हामी आफैं मर्यादित,अनुशासित नभए हामीबाट के सिक्ने ?’- सुब्बाकाे प्रश्न छ ।

संसद् नीति निर्माण गर्ने थलो भएकाे उल्लेख गर्दै उहाँले लेख्नुभएकाे छ – ‘यसका लागि मर्यादित बनौं, कुराका लागि कुरा गर्ने र नांगै नाँच नाचेर समय बर्बाद नगरौं ।’



प्रतिक्रिया दिनुहोस !