१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकप छनाेटमा

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार १२:२४


काठमाडाैं । नेपाल सिधै विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकाेणात्मक एकदिवसीय सिरिजकाे अन्तिम खेलमा बिहीबार संयुक्त अरब इमिरेट् (युएई) लाई पराजित गर्दै नेपाल विश्वकप छनाेटमा पुगेकाे हाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा नेपालले युएईलाई डीएल मेथाेडमा ९ रनले पराजित गर्‍याे । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा खराब लाइटिङका कारण डकवर्थ लुइस नियमका आधारमा खेलकाे निर्णय लिइएकाे हाे ।

याेसँगै नेपालले लिग-२ काे अंक तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो ।

नेपालको जितमा चार खेलाडीले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेल ५०,भीम सार्कीले ६७,आरिफ शेखले ५२, गुल्सन झाले नटआउट ५०, कप्तान रोहित पौडेलले १६ र दीपेन्द्रसिंह ए‍ेरीले नटआउट १० रन बनाए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राेजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३  सय १० रन बनाएकाे थियाे । उसका लागि आशिफ खानले १०१, वृत्या अरविन्द ९४, कप्तान मुहम्मद वसिमले ६३  र रोहन मुस्तफाले २० रन बनाए ।

बलिङ्तर्फ नेपालका दिपेन्द्रसिंह ऐरिले २, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !