१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मौरी विकास पकेट क्षेत्रमा अनुदानमा लिचीका बिरुवा

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १३:३६


कञ्चनपुर । मौरी विकास पकेट क्षेत्रका किसानलाई विशेष प्राथमिकतामा राखेर जिल्लाको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिडलेस लिचीका दुई हजार चार सय बिरुवा वितरणको गरेको छ ।
नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत लिचीका बिरुवा वितरण गरेको हो ।
बजारमा लिचीका प्रतिबिरुवाको मूल्य दुई सय बढी रहेकामा ७५ मा बिरुवा खरिद गरी किसानलाई सोको आधा मूल्यमा उपलब्ध गराइएकोे नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।
बिरुवा वितरणका लागि पहिलो प्राथमिकतामा कृष्णपुर–१ दोमिल्ला, कुमगडा, वडा नं २ को खल्लागोठ, वडा नं ४ को किंचाई, बैलकुण्डी र मालुवेलाका मौरीपालनमा लागेका किसानलाई राखेका छौँ, उहाँले भन्नुभयो, त्यसपछि अन्य फलफूलखेती गर्न इच्छुक किसानलाई उपलब्ध गराएका छौँ ।
लिचीका फूलबाट मौरीले राम्रो मह सङ्कलन गर्ने भएकाले मौरी पकेट क्षेत्रका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो प्राथमिकतामा राखी बिरुवा वितरण गरिएको शाखा प्रमुख धामीले बताउनुभयो । मौरी पकेट क्षेत्र बाहिरका फलफूलखेती गर्ने किसानलाई माग र आवश्यकताका आधारमा बिरुवा उपलब्ध गराइएको उहाँको भनाइ छ ।
एक लाख बजेटमा शाखाले लिचीका बिरुवा खरिद गरेको हो । खरिद गरिएका बिरुवा पचास प्रतिशत अनुदानमा दुईवटाका दरले एक हजार दुई सय किसानलाई वितरण गरिएको छ, शाखा प्रमुख धामीले भन्नुभयो । उहाँका अनुसार बाह्य क्षेत्रबाट आयात हुने फलफूललाई विस्थापन गरी स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष किसानलाई फलफूलका बिरुवा वितरण गर्दै आएको छ ।
-रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !