६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापामा हात्तीको त्रास, चालु आवमा ६ जनाको गयाे ज्यान 

प्रकाशित मिति :  १८ असार २०८१, मंगलवार १७:००


झापा । मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते हुनुभयो । विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उहाँको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो, घाइते भीममायाका पति डिल्ली राईले भन्नुभयो,साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।

जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ । सर्प र चट्याङको डर त छँदैछ । दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन् । साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरु अनिँदै बस्नुपर्ने अवस्था छ । असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर–९ मागुरमाडी गाउँमा पसेका दुईवटा हात्तीले टङ्कप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा लगाइएको मकैबाली नष्ट ग¥यो । “हात्तीले पहिल्यैदेखि राति दुःख दिँदै आएका थिए, अचेल दिउँसै दुःख दिन थालेपछि थप समस्या भएको छ, श्रेष्ठले भन्नुभयो,“मानो रोपेर मुरी उब्जाउने बेला हात्तीको समस्या भयो । गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् !

डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा हात्तीको आक्रमणबाट छजनाको मृत्यु भएको र १३ जना घाइते भएका बताउनुभयो । सोही अवधिमा चारवटा हात्तीसमेत मरेका उहाँले जानकारी दिनुभयो ।

यहाँका किसान हात्ती मात्र होइन, वर्षायाममा बाढी र चट्याङको त्रासदीबाट पनि गुज्रिरहेका छन् । नदीमा पर्याप्त तटबन्धन नहुनु, भारी वर्षा हुनासाथ बाढी र डुबानको समस्या आउने मनसुनजन्य विपद्ले बर्सेनि यहाँ मानवीय तथा भौतिक क्षति हुने गरेको छ । मेची, निन्दा, विरिङ, कनकाई, कमल, रतुवा र मावा नदीले बर्सेनि ठूलो मात्रामा उर्वर खेतीयोग्य जग्गा कटान गरेर बगर बनाइरहेको छ । यसको रोकथामका लागि भने ठोस प्रयास हुन सकेको छैन् ।
गत असार ३ गते परेको चट्याङले मेचीनगर–३ भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधेका एक हल राँगा मरे । बर्खामा खेत जोत्न हुर्काएका हल राँगा नै मरेपछि भट्टराई दुःखमा परेका छन् । वर्र्षौदेखि हुर्काएका एक हल राँगा मरेको पीडा त छँदैछ खेत जोत्न एक हल राँगा किन्नु पर्ने र त्यसका लागि रु डेढलाख ऋण काड्नुपर्ने अवस्थाले उहाँलाई थप समस्यामा पारेको छ ।

यस्तै यही असार १२ गते बिहान गौरीगञ्ज र कमल गाउँपालिकामा परेको छुट्टाछुट्टै चट्याङ लागेर खेतमा काम गरिरहेका दुईजनाको निधन र एक घाइते भए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार गौरीगञ्ज–३ ठेकीटोलमा धानको बीउ उखेल्ने काम गरिरहेका गौरादह–८ का ४२ वर्षीय विकास गिरी र कमल–२ समयगढका ४६ वर्षीय राजन खड्काको चट्याङ लागेर ज्यान गएको हो ।

वर्षायाममा सर्पदंशको समस्यासमेत त्यस्तै छ । असार ११ गते बेलुका ५ः३० बजेतिर कचनकबल–३ की १२ वर्षीया मनिषा राजबंशीलाई आफ्नै घरको सोफा बसिरहेका बेला विषालु सर्पले डस्यो । उपचारका लागि लैजाँदै गर्दा उहाँको निधन भयो ।

 

 

-रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !