१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १४:२१


भक्तपुर । भक्तपुर नगरपालिका–४, कुुमाल टोेलका स्थानीय बासिन्दाको मुख्य पेशा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेशाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् ।
पछिल्ला समय बजारमा स्टिल, सिलाबर र प्लाष्टिकका सस्तो र सजिला सामाग्री उपलब्ध छ । तरपनि परम्परागत माटोका सामग्री खोज्न आउने अझै यहाँ आउने गरेको स्थानीयको भनाइ छ । माटोका घैंटो, दियो, खुत्रुके, विभिन्न किसिमका मूर्तिहरुको माग बढ्दै गएको उनीहरु बताउँछन् । कुमाल टोलका स्थानीयहरु पहिले अन्य जिल्ला पुगेर महिनौँ सम्म भाँडा बनाउँथे र ज्यालाको रुपमा धान, गहुँ, मकै ल्याउथेँ । अहिले अन्य जिल्लाका मानिस आफैँ यहाँ आउँछन् र मन परेको सामान खरिद गरेर लैजान्छन् ।
कुमाले टोलका तुलसीराम प्रजापतिको पुख्र्यौली पेसा  माटोको भाँडा बनाउने हो । पुस्ताँैपुस्तादेखि गर्दै आएको माटोको भाँडा बनाउने पेसाबाट  राम्रो आम्दानी हुने उहाँले बताउनुभयो । यही पेशाबाट भएको आम्दानीले उहाँले स्नातकोत्तर तहसम्म चार जना छोराछोरी पढाउनुभयो ।  यही पेशाले घरखर्च चलाउनेदेखि छोराछोरी पढाउने सबै गरेको छु, मेरा लागि यो पेसा एकदमै प्यारो छ, उहाँले भन्नुभयो ।
माटोका सामग्रीमध्ये खुत्रुके, गमला, पाला, सानो लोटा धेरै मात्रामा बिक्री हुने सामग्री हुन् । विभिन्न देवीदेवताका मूर्ति, पशुपक्षीका मूर्ति सजावटमा प्रयोग हुने माटोको फूलदानी, मन्दिर, प्लेट, कचौरा जस्ता सामग्रीको पनि माग उत्तिकै छ । पहिले  सूर्यविनायक, सिपाडोल, चाँगुनारायणमा माटो उपलब्ध हुने भएपनि अहिले उपयुक्त माटो लिन काठमाडौँको साँखु र काभ्रेपलाञ्चोकको धुलिखेल वा दाङसम्म पुग्नुपर्छ । प्रतिकिलो रु ५० तिरेर गाडीमा माटो ल्याउनुपर्ने उहाँले जानकारी दिनुभयो ।
माटाका सामग्री बनाउन चाम्रो र चिल्लो माटो चाहिन्छ । माटोलाई एक ठाउँमा ल्याएर मुछ्ने काम हुन्छ, माटोमा रहेका अनावश्यक तत्व (माटोको डल्लो, ढुङ्गाको टुक्रो) छुट्टाइन्छ । पहिले–पहिले माटो खुट्टाले मुछ्ने गरिन्थ्यो । अहिले मेसिनले गर्दा छिटो तयार हुने र सजिलो हुने गर्छ । पहिले जस्तो चाखा अथवा चर्खा पनि हातले चलाउन नपर्ने मोटरले चल्ने भएकाले भाँडा बनाउन सजिलो भएको छ ।
सोही वडाका वडाध्यक्ष उपेन्द्र सुवाल माटोका भाँडा बनाउने कुमाले टोलको व्यवसाय वातावरणमैत्री र आम्दानीका हिसाबले पनि  सन्तोषजनक भएको बताउनुहुन्छ । उहाँले यस किसिमको उद्योगले पर्यटनमा पनि टेवा पु¥याएको बताउनुभयो । उहाँका अनुसार कुमाले टोलको व्यवसाय आर्थिक रुपमा मात्र नभइ धार्मिक, सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ । नेवार समुदायमा व्रतबन्ध, बेलविवाह, सूर्य दर्शन, विवाह, न्वारान र मरणमा माटोको भाँडा चाहिने भएकाले  माटोका भाँडाको व्यवसाय सांस्कृतिक रुपमा महत्वपूर्ण मानिन्छ । पर्यटकहरु माटोका भाँडा बनाउने तरिका हेर्न र अध्ययन गर्न आउने गरेको उहाँले बताउनुभयो ।
कुमाले टोलका अर्का स्थानीय विनोदकुमार प्रजापति पेसागत रुपमा खेलाडी र राष्ट्रिय कोच हुनुहुन्छ । २०–२५ वर्ष खेल क्षेत्रमा लागेपछि अहिले खेल छाडेर पूख्र्यौली पेसामा संलग्न हुनुभएको छ । उहाँले विसं २०६८ देखि पसल सुरु गर्नुभएको हो । माटोको भाँडा बनाउनुका साथै भाँडा बनाउने तालिम पनि उहाँले दिने गर्नुभएको छ ।
देशी तथा विदेशी पर्यटक माटोको भाँडा बनाउने अनुभव लिन र मनोरञ्जनका लागि कुमाले टोलमा आउने गर्छन् । पर्यटकले समयअनुसार पैसा तिरेर अनुभव लिने गरेका छन् । प्रजापतिले भन्नुभयो, “बीसदेखि तीस हजार माटोमा लगानी गर्दा दुई तीन लाखसम्म आम्दानी हुन्छ ।
-रासस


452
Shares

प्रतिक्रिया दिनुहोस !