१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १४:०७


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताउनुभएको छ ।
पूर्वसांसद मञ्च नेपालको २४औँं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको धारणा राख्नुभयो । संसद्को प्रभावकारिता बढाउन अग्रजहरुको अनुभव नयाँ पिँढीलाई प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लामो संसदीय अनुभव र क्षमतावान् व्यक्तित्व रहेको पूर्वसांसद मञ्चले दिने सुझाव संसद्, सरकार र राष्ट्रका लागि महत्वपूर्ण हुने कुरामा दुई मत छैन्, अध्यक्ष दाहालले भन्नुभयो, “मञ्चले सङ्घीय संसद्लाई सल्लाह सुझाव र आवश्यक परामर्श दिँदै आएको छ, यसले संसद्को प्रभावकारितामा महत्वपूर्ण सहयोग पुगेको महसुस गरेको छु । संविधान निर्माणको बेलामा मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्दै उहाँले आगामी दिनमा मुलुकमा राजनीतिक जटिलता आएमा सकारात्मक परिणामका लागि अनुभवी तथा पुराना सांसदहरुको सक्रियता र सुझाव आवश्यक हुने बताउनुभयो ।
नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण मुलुकले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर सबै एकजुट भई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका समस्या समाधानमा साझा धारणा बनाउने पूर्वसांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उहाँले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
नेपालको छ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रियसभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्वसांसद मञ्च संसद्को परामर्शदातृ संस्थाका रुपमा रहेको बताउनुभयो । अहिले पनि सङ्घीय संसद्का दुवै सदनले नियमावलीमा परामर्श सेवा दिने संस्थाका रुपमा मञ्चलाई लिएको उहाँको भनाइ छ । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटसहित राष्ट्रियसभा र प्रतिनिधिसभाका पूर्वसदस्यहरुको सहभागिता थियो ।
-रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !