१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दाङमा आमा साक्षरता अभियान

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १०:२३


तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने गर्छ । हामी सधैँ चुलोचौकोमै सीमित भयौँ, तर, अब यसरी सीमित हुने छैनौँ, उहाँले भन्नुभयो, गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायकालागि आवाज उठाउने छौँ ।

त्यस्तै तुलसीपुर–७ का टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जान सक्ने भएको बताउनुहुन्छ । उहाँले आँखै अगाडि महिला हिंसा, घरेलु हिंसा हुने गरेको भए पनि सहेर बस्नुपर्ने अवस्था रहेको जनाउँदै अब त्यसो हुन नदिने बताउनुहुन्छ । आँखै अगाडि कति हिंसा हुने गर्छन्”, उहाँले भन्नुभयाे, अब हामीले त्यसको प्रतिवाद गर्न सक्ने भएका छौँ ।

दाङ तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित कानुनी साक्षरता सम्बन्धी जानकारी आमाहरुलाई दिएपछि उनीहरु यसरी सचेत हुन थालेका हुन् । तुलसीपुरका १९ वडाका एक हजार बढी आमाहरुलाई कानुनी ज्ञान दिएको मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले बताउनुभयो । आमा साक्षरता अभियानअन्तर्गत आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानुनी कुराहरु सिकाइएको उहाँको भनाइ छ ।

घरेलु हिंसा हुँदा कसरी न्याय माग्ने, न्याय माग्न कहाँ जाने, स्थानीय न्यायिक समितिको भूमिकालगायतका विषयमा जानकारी दिइएको उहाँको भनाइ छ । महिलाहरुमा कानुनी ज्ञान नहुँदा घरेलु हिंसा खेपिरहनुपरेको छ, उहाँले भन्नुभयो, यसलाई न्यूनीकरण गर्न पनि यो कार्यक्रम सञ्चालन गरिएको हो । कलेजको सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम चलेको हो ।

आमाहरुलाई अधिवक्ता विजय पोख्रेल र सुष्मा केसीले कानुनी ज्ञान दिनुभएको थियो । सबै वडामा पुगेर यो कार्यक्रम सञ्चालन गरिएको हो । कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीले पनि उक्त ज्ञान दिनुभएको थियो । कलेजमा कानुनमा स्नातक(विएएलएलबी) अध्यापन भइरहेको छ ।

 

 

–रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !