६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ज्येष्ठ नागरिकलाई  राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

प्रकाशित मिति :  १३ असार २०८१, बिहीबार १४:२९


खलङ्गा (दार्चुला) । उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्तालिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिइएसँगै  जिल्ला प्रशासन कार्यालय दार्चुलामा परिचयपत्र बनाउनेको भीड लागेको हो ।
विगत दुई हप्ता बढी समयदेखि सयौँका सङ्ख्यामा ज्येष्ठ नागरिकको प्रशासनमा भीड लागेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पहिलो चरणमा दार्चुला जिल्लालाई समावेश गरिएको छैन ।  राष्ट्रिय परिचयपत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै ज्येष्ठ नागरिक सकी नसकी परिचयपत्रको नम्बर लिन प्रशासन धाइरहेका छन् ।
स्थानीयवासी मोहन भट्टले भन्नुभयो, ज्येष्ठ नागरिकको सहजताका लागि वडा कार्यालयबाटै परिचयपत्र बनाउने कामको थालनी गरे सहज हुने थियो । राष्ट्रिय परिचयपत्र बनाउन आएका अधिकांशले परिचयपत्र निर्माणकार्यलाई पालिकास्तरबाट सहज बनाउन माग गरेका छन् ।
पहिलो चरणमा कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा मात्रै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको  छ । वैयक्तिक तथा जैविक विवरण समेटिएको बायोमेट्रिक कार्ड राष्ट्रिय परिचयपत्र भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्दछ । स्थानीय तहहरूले धमाधम सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र नम्बर लिन जिल्ला प्रशासन जान भनेपछि अहिले सामाजिक सुरक्षा पाउने नागरिक घण्टौँसम्म लाइन लागेर परिचयपत्र बनाउन थालेका छन् ।
स्थानीय तहहरूले सही सूचना प्रवाह गर्न नसक्दा ज्येष्ठ नागरिकले सास्ती व्यहोर्नुपरेको दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का स्थानीय गोपालसिंह धामीले बताउनुभयो । सेवाग्राहीको भीडलाई मध्यनजर गरेर आजदेखि जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुई दर्ता शाखा राखेर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । यसअघि एकजना मात्र दर्ता अपरेटर भएकाले पनि काममा ढिला हुने गरेको थियो । ज्येष्ठ नागरिकलाई सहज हुनेगरी परिचयपत्र बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !