१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री दाहालसँग भारतीय सङ्घीयमन्त्री जयशंकरको भेटवार्ता

प्रकाशित मिति :  २८ जेष्ठ २०८१, सोमबार १५:३२


काठमाडाैं । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल बस्नुभएको होटल ताजमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री पदमा नियुक्त हुनुभएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएकोमा प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराउनुभएको थियो ।

भेटमा प्रधानमन्त्रीका सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारी तथा भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !