११ असार २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियुद्धारा विद्यार्थी आन्दोलनको रचनात्मक ल्यान्डिङ्

प्रकाशित मिति :  ११ जेष्ठ २०८१, शुक्रबार १५:१०


–सुसन धमला–

काठमाडाैँ । जेठ १ गते अर्थात अनेरास्ववियुको स्थापना दिवस । ६० वर्ष अघि अनेरास्ववियुको स्थापना भएको थियो ।२०२२ सालमा सुजन खरेलको नेतृत्वमा अनेरास्ववियुको गठन भएको थियो । त्यो यात्राले ६० वर्षको गौरवपूर्ण इतिहास यात्रा पार गरेको छ । आफ्नो ६० औं स्थापना दिवसमा अनेरास्ववियुले काठमाडौंको भृकुटी मण्डपमा विद्यार्थी महोत्सवको आयोजना गरेर विद्यार्थी आन्दोलनमो परिवर्तीत स्वरुप देखाएको छ । नयाँ सन्देश दिएको छ ।

सुरुवाती चरणमा विद्यार्थी आन्दोलनको तरिका भिन्नै थियो । आवश्यकताका आधारमा अनेरास्ववियुले विद्यार्थी आन्दोलन पनि परिवर्तन हुनुपर्छ भन्दै आफूलाई परिवर्तन गरि सिर्जनात्मक र रचनात्मक ढंगले विद्यार्थी र जनता माझ जाने जमर्काेका साथ यो विद्यार्थी महोत्सव आयोजना गरेको हो ।

विद्यार्थी आन्दोलन भनेपछि सडकमा जम्मा हुने, ढुंगामुढा गर्ने, चर्का भाषण गर्ने, तोडफोड र कुटाकुटको समग्र शक्ति प्रदर्शन भन्ने मनोविज्ञान थियो । विद्यार्थी आन्दोलनको त्यो परिभाषालाई तोड्न र चिर्न अनेरास्ववियुले फरक आन्दोलनको सुरुवात गरेको छ ।

जहाँ प्रविधिको विकास, बौद्धिक बहस, कला संस्कृति मात्र नभएर मनोरञ्जन सहितको एक संगमलाई भृकुटीमण्डपमा एक छत मुनि देखाउँदै अनेरास्ववियुले विद्यार्थी आन्दोलनलाई रचनात्मक ढंगले पुनः एकपटक ल्यान्डिङ् गरेको छ ।

महोत्सवमा आएका युवाहरुको मुहारमा आशा र भरोसाको भाव देखिन्थ्यो । केही सिक्ने र रमाउने उत्साहका साथ विद्यार्थीहरुको महोत्सवमा बाक्लो उपस्थिति रहेको थियो ।

अनेरास्ववियु विद्रोहको बन्दुक मात्रै होइन सृजनाको संवाहक पनि हो भन्ने नारा बोकेर अघि बढिरहेको अनेरास्ववियुले ६०औं स्थापनाको पहिलो पाइलासँगै फरक र परिवर्तनशील आन्दोलनमा युवा पुस्तालाई आकर्षित गर्दै नयाँ र रचनात्मक आन्दोलनको बाटोमा होमिनु हामी सबैको लागि खुसीको कुरा हो ।

महोत्सवमा प्रत्यक्ष परियोजनाहरू, लाइभ म्युजिक, करियर काउन्सिलिङ्ग, बहस र संवाद, सातवटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, फूड स्टल, ई–गेमिङ्ग प्रतियोगिता, रोवोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानूनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरणलगायतका विविध १५ बढि कार्यक्रम गरिएको थियो ।

महोत्सवमा सरकारी–सामुदायिकसहित निजी शिक्षण संस्थाका स्टल पनि राखिएको थियो । कानुनी सहायता कक्ष र अन्य केहि स्टलको उपस्थिति रहेको थियो । सामुदायिक शिक्षण संस्थाका स्टल निःशुल्क गरिएका छन् ।

महोत्सवमा उपस्थित युवाहरु स्टल भ्रमण र लाइभ म्युजिकको मनोरञ्जनमा व्यस्त देखिन्थे ।
ई–गेमिङ्ग र रोवोटिक्स प्रतियोगितामा पनि युवाको बाक्लै उपस्थिति रहेको थियो ।

महोत्सव विद्यार्थी आन्दोलन ढुंगामुडा र तालाबन्दिको संगम हो भन्नेहरुका लागि नराम्रो झापड थियो । अनेरास्ववियुका महासचिवले महोत्सवको अन्तिम दिन अर्थात् जेठ तीन गते अनेरास्ववियुका तर्फबाट एक प्रण पनि गर्नु भएको थियो– ’हामी तपाईंहरु पढ्ने विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा तालाबन्दि गर्दैनौं ।’ यो कुरा अनेरास्ववियुले धेरै पहिले देखि उठाएको विषय हो । सोही अनुरुप अनेरास्ववियु विद्यालयमा रचनात्मक ढंगले अघि बढिरहेको छ ।

महोत्सवकोमा विद्यार्थीहरुले भरपुर ज्ञान र मनोरञ्जन लिने वातावरण बनाइएको थियो । १५० बढि शैक्षिक स्टल राखिएको थियो । जहाँ सरकारी र सामुदायिक सहित नीजि विद्यालयहरु पनि थिए । विभिन्न क्षेत्रका विश्वविद्यालय र विद्यालयमा विद्यार्थीले बनाइएका प्राविधिक कुराहरु प्रदर्शनका लागि राखिएको थियो ।

महोत्सवमा अनेरास्ववियुको इतिहास समेटिएको तस्बिर, वृत्तचित्र प्रर्दशनी गरियो । जसबाट आम विद्यार्थीहरुले अनेरास्ववियुका बारेमा थाहा पाउन पाए । लाइभ म्युजिक, चित्रकारिता, करिअर काउन्सिलिङ, बहस र संवादहरू पनि महोत्सवमा थियो ।

विभिन्न विषयक संवाद र बहसमा देशका चर्चित राजनीतिककर्मी देखि समाजसेवी सम्मलाई आमन्त्रित गरिएको थियो । करियर काउन्सिलिङ्का लागि विज्ञ बोलाइएको थियो ।

प्राविधिक दुनियाँको रोबोट देखि परम्परागत मोही पार्ने ठेकी र टपरी गाँस्ने सालको पात सहित स्वास्थ्य शिविर र रक्तदानका कार्यक्रम पनि विद्यार्थी महोत्सवमा देख्न सकिन्थ्यो ।

त्यतिमात्र होइन, सात वटै प्रदेशको पहिचान, संस्कृति प्रतिविम्बित हुने झाँकी, स्वास्थ्य शिविर, खानेकुराका परिकारहरूको प्रदर्शनी, पर्यटन भिजन, नेपाली तथा विदेशी विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूको जानकारी दिइने स्टलहरू पनि महोत्सवमा थियो ।

इ–गेमिङ र रोबो सकर र रोबोटिक्स वारमा विद्यार्थीहरूको चासोको विषय बनेको थियो । रोबो सकर र रोबोटिक्स वारजस्ता प्रविधिमा आधारित प्रतिस्पर्धामा सीमित समूहले प्रतिस्पर्धा पनि गरेका थिए । नयाँ र नौलो लागेर हुन सक्छ यि क्षेत्रमा अवलोकन गर्ने विद्यार्थीको चाप पनि राम्रै थियो ।

मनोरञ्जनका निम्ति युवा पुस्ताले मन पराएका र रुचाएका जोन चाम्लिङ्ग राई एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता ब्यान्डहरूले सांगीतिक प्रस्तुति दिएका थिए । पहिलो दिन जोन चाम्लिङ्ग राई एण्ड दि लोकल्स, दास्रो दिन द इलिमेन्ट र तेस्रो दिन अनुप्रस्थले विद्यार्थीलाई नचाएका थिए । युवा तथा विद्यार्थीले पनि राम्रो साथ दिएका थिए ।

समग्रमा भन्नुपर्दा अनेरास्ववियुको मात्र नभएर विद्यार्थी आन्दोलनकै नयाँ युग र इतिहासको सुरुवात हो भन्दा फरक पर्दैन । हरेक आन्दोलनको सुरुवात अनेरास्ववियुले गर्छ र सडकको बाघ संगठन पनि अनेरास्ववियु नै हो भन्ने कुरा पुनः पुष्टि भएको छ । ६० वर्षको यो इतिहासमा अनेरास्ववियुले धेरै अँधेरी र उजेली पार गर्दै यहाँसम्म आइपुगेको छ । स्थापनाका धेरै वर्ष अनेरास्ववियुले आफ्नो शक्तिशाली छाप छाड्न सफल भएको थियो । हरेक परिवर्तनका मोर्चामा आफूलाई अब्बल बनाउँदै आएको कुरा यस पटक पनि फेरि प्रमाणित भएको छ ।

‘अनेरास्ववियु विद्रोहको बन्दुक मात्रै होइन सिर्जनाको संवाहक पनि हो’ भन्ने नारा फेरि मैदानमा आएको छ । गौरवपूर्ण इतिहास बोकेको अनेरास्ववियुले केहि महिना पहिले ‘कालो अक्षर, रातो अक्षर’ नाटक प्रदर्शन गरेर शैक्षिक विकृतिमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । सुस्त बनेको विद्यार्थी आन्दोलनलाई सो नाटकले जुर्मुराएको थियो । विद्यार्थी महोत्सवसँगै अब त अनेरास्ववियुले विद्यार्थी आन्दोलनलाई रचनात्मक ढंगले ल्याण्डिङ् मात्र गरेको छैन, रचनात्मक र सृजनात्मक विद्यार्थी आन्दोलनको नयाँ गोरेटो पनि कोरेको छ । नयाँ पालुवा छरेको छ ।

परिवर्तनको ज्वाला हो अनेरास्ववियु, स्वतः स्फूर्त प्रमाणित गरिदिएको “विद्यार्थी महोत्सव–२०८१“ हामी विद्यार्थी सबैको ठूलो र गहन उपलब्धि हो । अबको विद्यार्थी नयाँ सिर्जनशीलताबाट अघि बढ्ने छ ।

हामी फेरि अर्काे वर्ष भेट्ने छौं । यस्तै र अझै रचनात्मक, सृजनात्मक र सृजनशिल विद्यार्थी महोत्सव लिएर । हामी फेरि भेट्ने छौं ।

(लेखक धमला अनेरास्ववियु प्रचारप्रसार विभाग सचिव हुन् ।)


1.5k
Shares

प्रतिक्रिया दिनुहोस !