७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सयको नोटमा चुच्चे नक्सा छाप्नु हुँदैन भन्ने आवाज राष्ट्रपतिको हो कि होइन – केपी ओली

प्रकाशित मिति :  २८ बैशाख २०८१, शुक्रबार १६:०३


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियताकाे पक्षमा अत्यन्तै गैरजिम्मेवार र खेलवाडपूर्ण ढंगका अभिव्यक्ति आएकाे भन्दै कडा आपत्ति जनाउनुभएकाे छ ।

शुक्रबार बसेकाे पार्टी संसदीय दलकाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पाैडेलका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपालले नोटमा नक्सा छाप्ने निर्णयबारे विभिन्न सञ्चार माध्यममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयाे ।

राष्ट्रपतिका सल्लाहकारले राष्ट्रपतिकै बाेली बाेल्ने भन्दै उहाँले याे बाेली राष्ट्रपतिकाे हाे कि हाेइन जवाफ चाहिने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘राष्ट्रियताकाे पक्षमा अत्यन्तै गैरजिम्मेवार र खेलवाडपूर्ण ढंगका अभिव्यक्ति आएका छन्, नेपालले नेपाली नाेटमा नेपालकाे नक्सा छाप्छ भन्ने खबर सार्वजनिक हुँदा अर्काे देश कराएकाे सुनियाे, किन अर्को देश कराएको ? किन करायो होला भन्दै गर्दा त राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरुले नक्सा छाप्ने कुरा फलानाे देशलाई उत्तेजित पार्न खाेजिएकाे भने ।’

देश हित विपरीतकाे यस अभिव्यक्ति विरुद्ध सदनमा गम्भीर रुपमा प्रस्तुत हुने चेतावनी पनि अध्यक्ष ओलीले दिनुभयाे । उहाँले भन्नुभयाे – ‘कस्ता मान्छे र कस्का मान्छे त्यहाँ जागिर ख्वाएर राख्नुभएकाे छ सम्माननीय राष्ट्रपतिले ? नेपालले नेपालको नक्सा नाेटमा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खाेजिएकाे हाे भनेर राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्नेहरु उफ्रिन मिल्छ ? याे तमासा हाेइन ? त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ? याे प्रश्न हामीले संसद्‍मा गम्भिरताका साथ उठाउँछाैं, प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ कि राष्ट्रपति आफैंले जवाफ दिनुहुन्छ कि ? सल्लाहकार जहाँकाे त्यही पठाउनुहुन्छ कि ? के गर्नुहुन्छ ? याे साधारण कुरा हाेइन, याे गम्भीर कुरा हाे ।’

गुमेकाे भूभाग समेटेर नेपालले नयाँ नक्सा छापेर संविधानकाे अंग बनाएकाे र नेपालकाे नाेट हाम्राे नाेट भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । नेपालकाे नाेट अनधिकृत कागजकाे खाेस्टाे नभएकाे भन्दै उहाँले हाम्राे नाेटमा गैंडा, के के राखियाे र नक्सा पनि राखिने बताउनुभयाे । हरेक नेपालकाे नाेटमा हरेक सिक्कामा नेपालकाे नक्सा अनिवार्य रुपमा राख्न सरकारलाई अध्यक्ष ओलीले सुझाव दिनुभयाे ।

नेपालको राष्ट्रहितविपरीत र विद्वेष भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा गुँड बनाएर बसेको उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘नेपालकाे नक्सा नेपाली नाेटमा राखेर छापिने भयाे भने राष्ट्रपति निवास कराउँछ बा, कस्ताे राष्ट्रपति कस्ताे राष्ट्रपति निवास ? कस्ता सल्लाहकार ?’

अध्यक्ष ओलीले नेपालको राष्ट्रहितविपरीत र विद्वेष भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा गुँड बनाएर बसेको बताउनुभयाे । सल्लाहकारकाे अभिव्यक्ति राष्ट्रपति स्वयमकाे हाे कि हाेइन यस विषयमा उहाँले राष्ट्रपतिकाे जवाफ समेत माग्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘नेपालको यतिसम्म अहित चिताउने, राष्ट्रिय भावनामा यस्तो विद्वेष भएका व्यक्तिले राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वाेच्च संस्था राष्ट्रपति कार्यालयमा सर्पकाे गुँड ? के भएकाे छ ? राष्ट्रपतिलाई म साेध्न चाहान्छु याे साधारण कुरा हाेइन ।’

यस विषयलाई सदनमा सशक्त रुपमा उठाएर छिनाेफानाे गरिने उहाँले बताउनुभयाे । सल्लाहकारको यो भनाई राष्ट्रपतिको हो कि होइन भन्ने प्रश्न पनि अध्यक्ष ओलीले गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘सल्लाहकारको यो भनाई राष्ट्रपतिको आजाव हो कि होइन हामी उहाँलाई सोध्न चाहन्छौं ?’



प्रतिक्रिया दिनुहोस !