७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला

प्रकाशित मिति :  २८ बैशाख २०८१, शुक्रबार १५:५६


भजनी । कैलालीको टीकापुर नगरपालिका–१ स्थिति शक्तिनगर शिविरकी सुकदेवी चौधरी हप्तामा चार दिन कृषि हाटबजारमा मकै पोलेर बेच्नुहुन्छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएकी सुकदेवीले एक महिनादेखि मकै पोलेर बेच्न थाल्नुभएको हो ।

दैनिक मजदुरी गर्दा हुने भन्दा राम्रो कमाइ मकै बेचेर हुन थालेपछि उहाँले मकै पोल्न थाल्नुभएको हो । “दिनभर मजदुरी गर्दा छ सय कमाइ हुन्थ्यो भने मकै बेचेर दिनको एक हजारसम्म गरेको छु”, उहाँले भन्नुभयो, “काम नगरे घरको गुजारा हुँदैन । अरुको काम गर्नुभन्दा आफ्नै काम गर्नुमा सन्तुष्टि छ ।”

सोही शिविरमा बस्नुहुने जितरानी चौधरी पनि हिजोआज मकै पोलेर बेच्ने काममा व्यस्त हुनुहुन्छ । १४ रुपैयाँमा मकै खरिद गरेर २५ रुपैयाँमा उहाँले बिक्री गर्नुहुन्छ । हाटबजारका दिन हाटबजारमा र अरु दिन बजारको चौराहमा पोलेको मकै बेचेर उहाँले छोराछोरीका लागि किताब कापी र पोशाक किनेको बताउनुभयो ।

“मकै बेचेर दिनमा पाँच सयदेखि एक हजारसम्म बचत गरेकी छु । त्यसबाट केही रकम घर खर्चका लागि छुट्याउनुपर्छ”, उहाँले भन्नुभयो, “बालबालिकाको पढाइ खर्च पनि मकैबाट आम्दानी हुने आम्दानीले धानेकी छु । मकै बेचेर घरको जोहो चलाउन सकिने स्थिति बनेको छ ।”

सुकदेवी र जितरानी मात्रै होइनन् । सुकुम्बासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन् ।

पछिल्लो समय सिँचाइको सुविधा भएपछि किसान मकै खेतीमा आकर्षित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले मकैखेती विस्तारमा सहयोग गरेको छ । कार्यान्वयन इकाइले खाद्यान्न बालीअन्तर्गत मकैमा ६७ कृषक तथा समूहलाई मकै खेती विस्तारमा अनुदान दिएको छ । उनीहरुलाई १२ हेक्टर क्षेत्रफलमा बिज वृद्धि कार्यक्रम सञ्चालन गरिएको आयोजनाका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिनुभयो ।

किसानको मागका आधारमा मकै खेती विस्तारको काम बर्षेनि बढ्दै गएको कार्यान्वयन इकाइका आयोजना प्रमुख भरत कँडेलले जानकारी दिनुभयो । “विगतमा किसान मकैखेती थोरै गर्नुहुथ्यो । अहिले गहुँ खेती भित्र्याएपछि मकै खेती गर्ने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “वर्षमा तीन पटक खेती गर्न थाल्नुभएको छ ।”
-रासस



प्रतिक्रिया दिनुहोस !