२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस मनाइँदै

प्रकाशित मिति :  १३ बैशाख २०८१, बिहीबार ११:३०


काठमाडाैं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस मनाइँदैछ ।

अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्द छ। मनमोहन स्मृति प्रतिष्ठानले पनि उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गर्दैछ ।

अधिकारीको ०५६ साल वैशाख १३ गते निधन भएको थियो । अधिकारी ०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएकाे थियाे ।

०५१ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गर्नुभएका अधिकारीले ल्याउनुभएको सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफैँ बनाऔं जस्ता कार्यक्रम जनप्रिय कार्यक्रम रहेका थिए । त्यस यताका सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । नेपालको बजेट तथा कार्यक्रम २८ वर्षदेखि उहाँले ल्याउनु भएको कार्यक्रमको निरन्तरता जस्तै छ ।

अधिकारीको ०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो । उहाँलाई चुनावी सभामा नै हृदयाघात भएको थियो । अधिकारी त्यस चुनावमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार हुनुहुन्थ्याे र

दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री अधिकारी नेकपा मार्क्सवादी र नेकपा एमालेका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

काठमाडौंको लाजिम्पाटमा जन्मनुभएका अधिकारीको बाल्यकाल विराटनगरमा बितेको थियो । विसं १९९४ सालमा अध्ययनका लागि वाराणसी जानुभएका अधिकारी बीएससी अध्ययन सकिन लागेका बेला १९९८ मा ब्रिटिस विरुद्ध भारत छोड आन्दोलन आन्दोलनमा सहभागी हुनुभएको थियो ।

उहाँलाई ब्रिटिस सरकारले गिरफ्तार गरी जेल हालेको थियो । भारतबाट विराटनगर फर्किएपछि उहाँ ट्रेड युनियनको नेता बन्नुभएको थियो ।

०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि २०५१ मंसिर १४ मा सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ अल्पमत सरकारको प्रधानमन्त्री बन्नुभएको थियो ।

अल्पमतको सरकार गठन भएको ९ महिनामा नै अविश्वास प्रस्ताव ल्याएपछि २०५२ जेठ ३० मा प्रधानमन्त्री अधिकारीले राजा वीरेन्द्र समक्ष ०५२ मंसिर ७ मा प्रतिनिधि सभाको निर्वाचन मिति तोकेर प्रतिनिधि सभा विघटनको प्रस्ताव गर्नुभएको थियो । सो प्रस्ताव अनुसार प्रतिनिधि सभा विघटन भएको थियो ।

सो कदम विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकोमा ०५२ भदौ १२ मा अदालतले सरकारको निर्णय उल्ट्याएर प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो । त्यसपछि ०५२ साल भदौ २५ गते उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । त्यहीँबाट नेपालमा राजनीतिक अस्थिरता सुरु भएको थियो ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएकाे थियाे । ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बन्नुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !