१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज राम नवमी पर्व, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

प्रकाशित मिति :  ५ बैशाख २०८१, बुधबार ०८:५०


काठमाडाैं । आज राम नवमी पर्व, मर्यादा पुरुषोत्तम भगवान श्री रामको पूजा आराधना गरी मनाइँदैछ ।

हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व मनाइने गरिएको हो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा विशेष पूजापाठ गरिन्छ ।

प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो ।

यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै आदी शक्ति नव दुर्गा देवीको पनि पूजा आराधना गरिन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

हन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ भने जनकपुरको राम मन्दिरमा पनि विशेष पूजा र आरतीको व्यवस्था गरिएको छ । देशका अन्य राम मन्दिरमा पनि आज भक्तजनको घुइँचो लागेको छ ।

सरकारले राम नवमीको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।



प्रतिक्रिया दिनुहोस !