२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

इलाम–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा सार्वजनिक

प्रकाशित मिति :  ३ बैशाख २०८१, सोमबार ०९:०९


इलाम । इलाम–दुई को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गर्नुभएको छ ।

सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी गराउन आग्रह गर्नुभएको हो ।

कांग्रेस इलामको सभापति समेत रहेका खड्काले ‘समृद्ध इलाम’ को परिकल्पनासहितका आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । उहाँले इलामेली किसानको मुद्रामा सहयोग गर्ने गरि आफूले काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

सडक, शिक्षा, उद्यमशीलता, पर्यटन र इलामलाई डिजिटल बनाउनेसम्मका कुरा अवधारणा पत्रमा उल्लेख गरेका छन् । ‘इलम इलाम’ नाम दिइएको अवधारणा पत्रमा जनतालाई रोजगार र उद्योगतर्फ अगाडी बढाउने सहितका कार्यक्रम ल्याएका छन् ।

इलाममा २०८२ सालमा लगानी सम्मेलन गर्ने, सोही वर्ष इलाम भ्रमण वर्ष घोषणा गरेर जिल्लाको विकासमा लागिपर्ने उहाँको संकल्प छ । तर यी मुद्दा सफल बनाउन इलाम क्षेत्र नम्बर दुईका जनताले आउने चुनावमा रुख चुनाव चिन्हमा मतदान गरेर आफूलाई जिताउन उहाँको आग्रह छ ।

उहाँले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाउनुभएको छ ।

उहाँले ‘इलम इलाम’ अवधारणाले इलाम दुई वासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूति आत्मसात गरेको बताउनुभएको छ । उहाँले आफ्नो गठबन्धन नितान्त जनतासँग रहेको उल्लेख गर्दै इलामे जनताको सेवामा सँधै समर्पित हुने पनि जनाउनुभएको छ् ।

विगत लामो समयदेखि जनताको सेवामा आफू लागेको भन्दै उहाँले जनताको मनमनमा गठबन्धन गरेको बताउनुभएको हो । जनता अप्ठ्यारोमा परेको समयमा आफूले सहयोग गरेको भन्दै उहाँले जनताले यस पटकको निर्वाचनमा आफूलाई नै मतदान गर्ने उहाँको भनाई छ ।

यही वैशाख १५ मा हुने उपनिर्वाचनमा १९ उम्मेदवार मैदानमा छन् । कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !