२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु

प्रकाशित मिति :  २ बैशाख २०८१, आईतवार १३:३९


काठमाडाैं । नयाँ शैक्षिक सत्र-२०८१ का लागि आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासाथ देशभर विद्यार्थी भर्ना अभियान सुरु भएकाे हाे ।

अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका संघ, गाउँपालिका महासंघ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायबीच भर्चुअल अन्तक्रिया भएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अभियानको पहिलो साता विद्यार्थी भर्ना र दोस्रो सातादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलो लगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, सूचना र आह्वान, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहणका लागि आह्वान गर्ने कार्यक्रम रहेकाे मन्त्रालयले जनाएकाे छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गराइनेछ । वैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई सोही दिन पोसाक र छात्रवृत्ति वितरण गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी शिक्षा मन्त्रालयमा पठाइने छ ।

मन्त्रालय मातहतकाे शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ ।



प्रतिक्रिया दिनुहोस !