२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष: रमेश लेखक

प्रकाशित मिति :  २ बैशाख २०८१, आईतवार १३:३७


काठमाडौं । नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको छ । आइतबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेर तानासाही प्रबृत्ति देखाएको बताउनुभयो ।

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गैरजिम्मेवार, जबाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जानेगरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको लेखकले जानकारी दिनुभयो ।

‘सरकार गैरजिम्मेवार, जबाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जाने गरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष हाम्रो छ,’ बैठकपछि लेखकले भने, ‘सदनको चालु अधिवेशन पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असमय अधिवेशन अन्त्य गर्ने, सदनमा बहुसंख्यक सांसदले उठाएका कुराप्रति सरकार गम्भीर नहुने विषयले नै सरकार कति गैरजिम्मेवार छ भन्ने देखिइसकेको छ ।’

प्रमुख सचेतक लेखकले विगत एक महिनादेखि कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषय तथ्य र प्रमाणसहित उठाउँदै आएको पनि बताउनुभयो । कांग्रेस संसदीय दल बैठकले ‘जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशनको अन्त्य गर्ने सरकारको निर्णयको घोर भर्त्सना र निन्दा’ गरेको छ ।

शनिबार कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका थिए । उहाँले संसदीय छानबिन समितिमात्रै माग गरेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !