२५ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रुस युक्रेन युद्ध: रातभर रुसद्धारा युक्रेनमा ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार

प्रकाशित मिति :  २९ चैत्र २०८०, बिहीबार १४:४०


किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ‘महत्वपूर्ण पूर्वाधार’ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताउनु भएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनमा खसालिदिएको बताउनु भएको हो ।

रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको छ । यी आक्रमणबाट कुनै पनि क्षति भने नभएको युक्रेनको भनाई छ ।

रुसले राजधानी शहर किभ, जापोरिझिया र ओडेसाका साथै पोल्यान्डसँग सीमा जोडिएको लभिभ शहरलाई पनि लक्षित गरी आक्रमण गरेको हो ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दोस्रो ठूलो शहर खार्किब र त्यस वरपरको क्षेत्रमा पनि क्षेप्यास्त्रहरुबाट आक्रमण गरेको बताउनु भएको छ । यस शहरलाई केन्द्रित गरेर पछिल्ला दिनहरुमा रुसले निरन्तर आक्रमण गरिरहेको छ ।

युक्रेनका गृहमन्त्री आइगोर क्लिमेन्कोले देशका विभिन्न भागमा सयौं उद्धारकर्मीहरु परिचालन गरिएको जानकारी दिनु भएको छ ।

यसै गरि रुसले पनि रुसका विभिन्न शहरलाई लक्षित गरी प्रहार गरिएका १२ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

युक्रेनले पनि रुसका विभिन्न भागमा ड्रोन मार्फत् केही महिनादेखि लगातार हमला गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !