१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डर्ट बाइक राइडरहरुका लागि पोखरामा आयोजित पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप

प्रकाशित मिति :  २५ चैत्र २०८०, आईतवार २१:५७


पोखरा । डर्ट बाइक राइडरहरुका लागि पोखरामा आयोजित पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप–२०२४ को उपाधि ललितपुरकी वर्षा बस्नेत र काठमाडौंका राजेश मगरले जितेका छन् ।

बस्नेतले महिला र मगरले पुरुषतर्फको स्पर्धा जित्दै जनही १ लाख ५० हजार रुपैयाँ राशिसहितको पुरस्कार पाए । महिलातर्फ दोस्रो मन्दिरा भण्डारी र तेस्रो सुरक्षा केसी भए । पुरुष ओपन मेल इलाइट मा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । ओपन ३० प्लस मास्टर्समा राज शाही पहिलो, विकास श्रेष्ठ दोस्रो र अजित बराल तेस्रो भए ।

पोखरा राइडर्स क्लवको आयोजनामा भएको वनजंगल, खोलानाला बाँसघारी गोरेटो, बगर आदिमा बालुवा उडाउदै बाइक गुडाउने प्रतिष्पर्धामा महिला र पुरुष गरि ५६ जनाले भाग लिएका थिए । प्रतिष्पर्धाका लागि सबै खालको मिश्रण रहेको ५ किलोमिटरको ट्रयाक निर्माण गर्न झन्डै ३ महिनाभन्दा बढी समय लागेको आयोजकको दाबी छ ।

विश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्र्याएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए । पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले साहसिक खेल आयोजना हुनु उत्साहजनक रहेको भनाइ राखिन । यस्ता आउटडोर स्पोर्ट्सहरुले भर्खरै पर्यटनको राजधानी घोषणा भएको पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गण्डकीका अध्यक्ष शिव श्रेष्ठले बताए ।

अन्तिम प्रतिष्पर्धाका लागि गत शुक्रबार छनोट खेल गराइएको थियो । मेन्स ओपनतर्फ २५ जना खेलाडी छनोटमा परेका थिए । महिलातर्फ ३० प्लस ओपन मास्टर्समा ७ जना खेलाडीले अन्तिम प्रतिष्पर्धा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !