२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अझै १५ दिन हिरासतमै बस्नुपर्नेः अरविन्द केजरीवाल

प्रकाशित मिति :  २० चैत्र २०८०, मंगलवार १३:४८


नयाँ दिल्ली । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ ।

संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको हो । दिल्लाको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न थप अनुमति दिएको हो । ईडीले केजरीवालको घरबाट प्राप्त भएको डिजिटल डिभाइसहरुको अध्ययन भइरहेको र उनले आफ्नो मोबाइलको पासवर्ड समेत नदिएको ईडीले अदालतमा जनाएको छ ।

अदालतको आदेशपछि केजरीवाल अब १५ अप्रिलसम्मका लागि तिहाड जेलमा रहनेछन् । उनी जेल परेपनि दिल्लीको सरकारमा नयाँ नेतृत्व छैन, उनले जेलबाटै सरकार सञ्चालन गरिरहेका छन् । सोही प्रकरणमा आपका नेताहरु मनीष सिसोदिया, संजय सिंह र सत्येन्द्र जैन महिनौंदेखि उक्त जेलमा छन् ।

ईडीका अधिकारीले २१ मार्चको राति केजरीवाललाई उनको सरकारी निवासबाट नियन्त्रणमा लिएको थियो । यता केजरीवाल नेतृत्वको आम आदमी पार्टी र अन्य विपक्षी दलहरूले भने राजनीतिकरुपमा प्रेरित भएर मोदी सरकारले केजरीवाललाई पक्राउ गरेको आरोप लगाएका छन् ।

विपक्षी गठबन्धनले हालै दिल्लीमा विरोध सभा नै आयोजना गरेर चुनावको मुखमा त्रसित भएर भाजपाले यस्तो हर्कत गरेको आरोप लगाएको थियो । सरकारको यस्तो कार्यले मुलुकमा लोकतन्त्र संकटमा परेको उनीहरूको भनाइ थियो । विपक्षी गठबन्धनले निर्वाचन आयोगलाई चुनावमा सबैलाई समान अवसर सुनिश्चित गर्नसमेत माग गरेको छ । कईडीले यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !