१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महाजात्राले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छः केपी ओली

प्रकाशित मिति :  १३ चैत्र २०८०, मंगलवार १०:५७


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमति राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेरेका छन् ।

सुन्धारास्थित सिने डी सेफमा फिल्म हेरेपछि उहाँले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिनुभयो ।

उहाँले फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोकेको बताउनुभयो । ‘फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् ।

यसले बाटो बिराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भन्नुभयो,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले फिल्म हेरेका थिए । फिल्म अवधिभर मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताउनुभयो ।

‘फिल्मको सुरुआत देखि नै म हाँसी रहे । यसले भ्रष्टचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रुपमा राजनीति गर्नुपर्छ भन्ने संदेश दिएको छ । मैले यो शृंख्लाका सबै फिल्म हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’, नेत्री ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिनुभएको थियो ।
फिल्मलाई अध्यक्ष ओली अगाडि पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हेरिसकेका छन् ।

षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ श्रृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ ।

गत चैत नौ गतेबाट नेपालसँगै विश्वभर एकसाथ रिलिज फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्म म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


226
Shares

प्रतिक्रिया दिनुहोस !