राखेप सदस्य–सचिव टंकलाल घिसिङ र आईसीसी अध्यक्ष ग्रेग बारक्लेबीच भेटवार्ता
![](https://i0.wp.com/www.risingsunkhabar.com/wp-content/uploads/2024/03/icc-rakhep1672912486-1_large-696x381-1.jpg?fit=696%2C381&ssl=1)
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ ।
भेटमा सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाईदिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि आग्रह गर्नुभयो ।
मंगलबार भएको दुई पक्षबीका भेटको क्रममा नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न ससन्ने सहयोगलगायतका विषयमा छलफल भएको राखेपले जनाएको छ ।
भेटमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राख्न नेपाल प्रयासरत रहेको जानकारी गराउनुभयो ।
घिसिङले पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको उल्लेख गर्दै नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी– २० विश्वकपकालागि सहयोगका लागि आग्रह गर्नुभयो ।
‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आईसीसीले राम्रै सहयोग गरेको मैंले जानकारी पाएको छु । हामीले पनि आईसीसीबाट यु–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौं,’ सदस्य–सचिव घिसिङले भने ।
सदस्य–सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउदै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाई दिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गरेको राखेपले जनाएको छ ।
अध्यक्ष बारक्लेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउदै सीमित स्रोत र साधनको प्रयोगमा पनि नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताउनुभयो ।
अध्यक्ष बारक्लेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आईसीसी अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । भेटका अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतलको उपस्थिति रहेको थियो ।