१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस सत्तामा नहुँदा छटपटाउन लाग्यो : महेश बर्तौला

प्रकाशित मिति :  ४ चैत्र २०८०, आईतवार १७:५७


काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सत्तामा नहुँदा पानी बिनाको माछा छटपटाए जस्तै गरी छटपटाएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बाहिर पत्रकारसँग कुरा गर्दै बर्तौलाले सरकार छाडेको एक हप्तामा नै कांग्रेस छटपटाएको बताउनुभयो । ‘सरकार छाड्दाको उहाँहरूको पीडा छटपटी र कुण्ठा उहाँहरूबाट व्यक्त भएको छ’, उहाँले भन्नुभयो ।

कांग्रेसले रास्वपा र गृह मन्त्रीलाई आक्रमण गरेर अंकगणितीय हिसाबले अहिलेको सरकार ढाल्ने योजना बनाएको बर्तौलाले बताउनुभयो । कांग्रेसको यो नियत प्रष्ट रूपमा देखिएको उहाँको भनाइ छ । ‘रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न खान नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ कांग्रेस अगाडि बढेको होइन र, यो भन्दा बाहेक अरू छ र’, बर्तौलाले भन्नुभयो ।

सहकारी प्रकरणमा रवि लामिछाने दोषी प्रमाणित भए कानुन अनुसार सजायका भागीदार हुनुपर्ने बर्तौलाले बताउनुभयो । रवि लामिछानेले आफू माथि छानबिन गर्न र दोषी प्रमाणित गर्न भनिरहनुभएको उहाँले स्मरण गराउनुभयो ।

सुन तस्करीको प्रकरणमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनका आधारमा छानबिन हुने उहाँले प्रष्ट पार्नुभयो । ‘रिपोर्ट बमोजिम जो जो जहाँ जहाँ जसरी संलग्नता छ, दोषका प्रकृतिका आधारबाट कानुनी कारबाही हुन्छ’, उहाँले भन्नुभयो ।

प्रतिवेदनले उठाएका बस्तु पनि सार्वजनिक हुनु पर्ने बर्तौलाको भनाइ छ । यस विषयमा सरकारलाई संसदमार्फत ध्यानाकर्षण गराएका उहाँले बताउनुभयो । ‘कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन हुँदैन’, बर्तौलाले भन्नुभयो ।


565
Shares

प्रतिक्रिया दिनुहोस !