१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्दैन -अर्थमन्त्री वर्षमान पुन

प्रकाशित मिति :  ३ चैत्र २०८०, शनिबार १३:२६


कठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको बताउनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बैंकहरु जत्तिको व्यवस्थित रुपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको दाबी गर्नु भयो ।

मन्त्री पुनले भन्नुभयाे-‘नेपालमा यदि कुनै संस्था व्यस्थित रुपमा सञ्चालनमा छ भने त्यो बैंकिङ क्षेत्र हो । यो हामीले भनेको होइन । अन्तर्राष्ट्रिय संस्थाहरुले अध्ययन गरेर निकालेको निस्कर्ष हो’, ।

उहाँले केही व्यक्तिले गरेको आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सह्य नहुने चेतावनी पनि दिनुभयो ।

पुनले बैंक तथा वित्तिय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो ।

‘बैंकहरुबाट ऋण लिने, कालो सूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिंड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भन्नुभयो, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैंकिङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कपादी स्वीकार्य हुन सक्दैन ।’

कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट गर्दै उहाँले आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

‘कोही पनि व्यक्ति तथा परिवार कानून र संविधानभन्दा माथि छैन । एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न मिल्दैन । एउटा व्यक्तिले गल्ती गर्दा सिंगै परिवार र संस्थालाई दोषी करार गर्ने प्रवृत्ति समाजमा घातक रुपमा अघि आएको छ’, उहाँले, ‘बैंक, निजी क्षेत्र वा नियामक निकायमा काम गर्ने व्यक्तिका कमजोरी हुन सक्छन् । तर, सम्बन्धित सेक्टरमा काम गर्ने सबैलाई आरोपित गर्न मिल्दैन ।’

मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने बताउनुभयो । ‘आफ्ना महत्वाकांक्षा र स्वार्थ सिद्धिका लागि सानातिना कमजोरी खोजेर व्यवस्था, प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने प्रवृत्ति, मिलेर बसेको समाजलाई बिखण्डन गर्न चाहने धार्मिक र सामाजिक अतिवादी प्रवृत्ति र दुनियाँभरका उदाहरण दिएर आफ्नो नेतृत्वलाई सराप्ने घातक प्रवृत्तिसँग हाम्रो सहमति छैन’, पुनले भन्नुभयो , ‘जसले आफ्नै माटोमा पसिना बगाउँछु भन्ने सोच र प्रवृत्ति राख्छ त्यससँग हाम्रो सहमति छ ।’


791
Shares

प्रतिक्रिया दिनुहोस !