१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजको प्रतिनिधि सभा यस्तो रह्यो

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार १७:१८


काठमाडाैं । प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले अघिल्लो गठबन्धन सरकारले ल्याएको सरकारको बजेटका सिद्धान्त र प्राथमिकता देशलाई निकास दिने खालको नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले सिद्धान्त र प्राथमिकताको पुनर्लेखन गर्नुपर्ने बताउनुभयो । त्यसले पनि प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुनर्गठन गर्नुको औचित्य पुष्टि गरेको उहाँको धारणा छ । ‘यसमा न सिद्धान्त छ, न प्राथमिकता छ, यसमा केही पनि छैन, यो यसमा केवल शब्द र वाक्यको भिड मात्र छ’, उहाँले भन्नुभयो ।

यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन् भन्दै प्रतिनिधि सभामा प्रश्न उठाउनु भएको छ ।

विहीबार प्रतिनिधि सभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होईन् कुर्सी मात्र भएको बताउनु भयो ।

यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा मागेको छ ।

बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद् बद्री पाण्डेले सहकारी विवादमा मुछिएका विवादास्पद गृहमन्त्री लामिछानेको नियुक्ति र सहकारी पीडितका समस्याबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

’दूधको दूध पानीको पानी छुट्याएर पीडितलाई न्याय दिने गुरुत्व अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभाषमा प्रधानमन्त्रीको धारणा के हो ? यसको जवाफ कांग्रेसले खोजिरहेको छ’– उहाँले भन्नुभयो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले देश उन्नत सोचका साथ अघि बढ्न लागेको बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै गैरेले सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच भएका राजनीतिक दल अहिले एक ठाउँमा आएर सत्ता गठबन्धन बनेको बताउनुभयो । ‘जिम्मेवार राजनीतिक दलका बिचमा एउटा सहकार्य प्रारम्भ भएको छ’, उहाँले भन्नुभयो ।

यसै गरि नेकपा एमालेकी सांसद् सरस्वती सुब्बाले गुठी सम्बन्धी समस्या समाधानका लागि गुठी विधेयक ल्याउनुपर्ने बताउनुभएको छ ।

बैठकको शून्य समयमा बोल्दै सांसद् सुब्बाले दाङसहित ६८ वटा जिल्लामा गुठी समस्या रहेको भन्दै विधेयक ल्याएर ती समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

दाङमा स्वर्गद्वारी गुठी पीडित किसानहरु २३ दिनदेखि धर्नामा रहेका भन्दै उहाँले उनीहरुसँग वार्ता गरेर माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । स्वर्गद्वारी गुठीको जग्गा कमाउँदै आएका किसानहरु २३ दिनदेखि धर्नामा रहेका र उनीहरु मोही भएको भन्दै सांसद् सुब्बाले उनीहरुको माग संविधानसम्मत रहेको बताउनुभयो ।

यसै गरि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी काण्डमा जोडिएका सत्तागठबन्धन निकटका व्यक्तिलाई जोगाउने प्रपञ्च भइरहेको बताउनुभएको छ ।
बैठकको विशेष समयमा बोल्दै सांसद् यादवले सुन तस्करी काण्डमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई उन्मुक्ति दिने प्रयास भइरहेको बताउनुभयो ।

आफूहरुले देशमा सुशासन चाहेको उहाँले बताउनुभयो । ’हामी देशमा सुशासन र समृद्धि चाहन्छौँ, यो देश तस्कर र भ्रष्टाचारीहरूको देश नबनोस्, सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ, यदि यस्तो भयो भने यो देशमा आम जनता निराश हुनेछन् र वर्तमान सरकारका विरुद्ध जनता सडकमा आउनेछन्’– सांसद् यादवले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक चाँडै टुंगोमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै सांसद् मोदीले सबै मिलेर सहमतिका आधारमा टीआरसीसँग सम्बन्धित विधेयक टुंग्याउनुपर्ने बताउनुभयो । सर्वाेच्च अदालतले एक महिनाभित्र आयोग गठन गर्न आदेश दिएको उहाँले बताउनुभयो ।


678
Shares

प्रतिक्रिया दिनुहोस !