१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक पाए विश्वासको मत

प्रकाशित मिति :  ३० फाल्गुन २०८०, बुधबार १०:२६


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक संसद्मा विश्वासको मत पाउनुभएको छ ।

बुधबारको संसद बैठकमा उपस्थित २७० सांसदमध्ये १५७ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेससहित ११० जनाले विपक्षमा मतदान गरे भने एक जना सांसद तटस्थ बसे ।

प्रधानमन्त्री दाहाललाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतले विश्वासको मत दिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

त्यतिबेला संसदमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ ।

त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका सबै दलले उहाँलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए ।

सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उहाँले एक सय ७२ मत प्राप्त गरेका थिए । उहाँको विपक्षमा ८९ मत परेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !