१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महासचिव शंकर पोखरेल भन्नुहुन्छ याे सहकार्यलाई चार वर्षसम्म लैजानु पर्छ

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ०८:३१


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति बढेको बताउनुभएको छ ।

स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले परिवर्तनलाई उल्टाउन खोज्ने प्रवृत्ति हाबी भएको बताउनुभयो । ‘देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन्’, उहाँले भन्नुभयो ।

पोखरेलले यस्ता प्रवृत्तिलाई रोक्नु पर्नेमा जोड दिनुभयो । यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका हुने उहाँले प्रष्ट पार्नुभयो ।

पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पुरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताउनुभयो । ‘हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दछौँ’, उहाँले भन्नुभयो ।

अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको पनि उहाँले प्रष्ट पार्नुभयो । पुरानो सत्ता गठबन्धन भित्र समस्या भएको थाहा पाएपछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको उहाँले प्रष्ट पार्नुभयो । ‘त्यस कारण यसलाई जोगाउने कर्तव्य पनि हाम्रो हो’, उहाँले भन्नुभयो ।

विगतको सरकार असफल भएकोले अहिलेको सरकारलाई सफल बनाउनु पर्छ भन्ने कुरामा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसैले चारदलीय सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको पोखरेलले बताउनुभयो ।

अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको उहाँले बताउनुभयो । यो धारणा सबै नागरिकमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जति राज्यबाट नागरिक टाढिन्छन् त्यति नै विकास र समृद्धि पनि टाढिने पोखरेलको धारणा छ ।

पार्टीका सामु अहिले अवसरवाद र सांगठनिक अराजकताको चुनौती रहेको उहाँले बताउनुभयो । विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकोले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमालेका नेता कार्यकर्ताको आचरण जनताले मन पराउने खालको हुनु पर्नेमा उहाँले जोड दिनुभयो । जनताले मन नपराउने र आशंका गर्ने आचरण भएका कार्यकर्ताबाट पार्टी बन्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । जनसरोकारका विषयमा केन्द्रित हुँदा मात्र जनता आफ्नो वरिपरि गोलबन्द हुने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्र निर्माणको लागि जो जहाँ छ त्यहीँबाट काम गर्दा पनि धेरै काम गर्न सकिने उहाँले दाबी गर्नुभयो । समाज बदल्न अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै पोखरेलले समाज परिवर्तनको काममा लाग्न सबैलाई आह्वान गर्नुभयो ।

पार्टी केन्द्रमा अहिले कुनै समस्या नरहेको भए पनि जति तल झर्दै गएको विभिन्न खालका गुटहरू बनेका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । माथिदेखि तलसम्म पार्टीमा एकता कायम हुन आवश्यक रहेको उहाँले औँल्याउनुभयो । चित्त नबुझ्ने बित्तिकै अराजकता फैलाउने कुरा पार्टीमा मौलाउनु नहुने उहाँको धारणा छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !