१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशमा विश्वासको संकट छ- महामन्त्री शर्मा

प्रकाशित मिति :  २६ फाल्गुन २०८०, शनिबार १०:३२


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यति बेला देशमा विश्वासको संकटको अवस्था रहेको बताउनुभएको छ ।

शनिबार नेपाल शिक्षक संघ चौथो वाग्मती प्रदेश प्रतिनिधि सभा उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले घर, समुदाय, विद्यालय, प्रशासन, न्यायालय, राजनीतिक दल र देश सबै ठाउँमा विश्वासको संकट पैदा भएको बताउनुभयो ‘विश्वास हामीलाई कसैसँग नभइरहेको अवस्था छ’, उहाँले भन्नुभयो ।

समाजमा विश्वास गुमेपछि सबैभन्दा डरलाग्दो स्थिति हुने उहाँले प्रष्ट पार्नुभयो । नागरिकको प्रमुख आवश्यकता रोटी, सुरक्षा र विश्वास भएको शर्माले बताउनुभयो । तीन मध्ये पनि एउटा मात्रै चिज दिनुपर्दा पनि राज्यले विश्वास दिनु पर्ने उहाँको धारणा छ । ‘विश्वास दियो भने नागरिकले आफ्नो सुरक्षा पनि गर्छ, नागरिकले आफ्नो रोटीका प्रबन्ध पनि गर्छ’, शर्माले भन्नुभयो ।

नेपालमा अहिले धेरै कुरा भएर पनि, एउटा प्रणाली अगाडि बढेको भए पनि, केही न केही काम भए पनि विश्वास गुमिरहेको अवस्था भएको शर्माले बताउनुभयो । यो देशमा केही भइरहेको छैन, यो देश बन्दैन, यो देश बनाउन सकिँदैन भन्ने मनोविज्ञान समाजमा व्याप्त भएको भन्दै शर्माले चिन्ता व्यक्त गर्नुभयो ।

हिंसा, संविधान विहीनता, विकास विहीनताको अवस्थाबाट देश धेरै अघि बढिसकेको उहाँले बताउनुभयो । तथापि यसको सुधारका लागि गर्नुपर्ने धेरै काम बाँकी रहेको उहाँले प्रष्ट पार्नुभयो । सिष्टमको विकास गर्न नसक्दा गरिरहेको काम नागरिकलाई बुझाउन नसकिएको उहाँले बताउनुभयो ।

देश सिष्टमविहीनताको अवस्थाबाट चल्दा हिरोइजम विकास हुने शर्माको तर्क छ । देश कुनै हिरोले बनाउने नभई सिष्टमले बनाउने उहाँले प्रष्ट पार्नुभयो । सिष्टमको विकास गर्न सकिएन भने त्यसले समस्या पैदा गर्ने शर्माले धारणा राख्नु भयो ।

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उहाँले प्रष्ट पार्नुभयो । लोकतन्त्र समुन्नत भएन भने त्यो निरस प्रक्रिया मात्र बन्न जाने उहाँले बताउनुभयो । समुन्नत लोकतन्त्रमा एक जनाको आवाज पनि सुनिने शर्माले प्रष्ट पार्नुभयो ।

नेपाल बनाउन नेपाल कहिल्यै बन्दैन भन्न मनोविज्ञान र नेपालले कहिल्यै हारेन भन्ने मनोविज्ञान भत्काउन जरुरी रहेको उहाँले बताउनुभयो । नेपालमा केही भएको छ र नेपालले ब्रिटिस गोरखासँग हारेर आफ्नो भूमि गुमाएको थियो भन्ने कुरा सबैले बुझ्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले हामी पराजित भएका थियौँ अब मिलेर उठ्नु पर्छ भन्ने कुरा कक्षा–कोठाबाट नै विद्यार्थीलाई सिकाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

अहिले नेपाल अत्यन्त सम्भावनाको मोडमा उभिएको उहाँले बताउनुभयो । दक्षिण र उत्तरलाई सन्तुलनमा राखेर नेपालले धेरै काम गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो । नेपालले उत्तर दक्षिण गएर आउँदा के लिएर आयो भनेर हेर्ने अवस्था हुँदै गर्दा आज बिजुली बेच्ने सम्झौता गरेर आएको खबरले नेपालमा व्यापार सम्भावना बढेको उहाँले प्रष्ट पार्नुभयो ।

शिक्षकहरूसँग भएका सबै सम्झौता कार्यान्वयन हुनुपर्दछ भन्ने विषयमा कांग्रेस प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । शिक्षक भगवानको प्रतीक भएको उहाँको भनाइ छ । शिक्षक श्रद्धा र आस्थाको केन्द्र हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

शर्माले सरकार परिवर्तनले अहिले नकारात्मक सन्देश दिएको टिप्पणी पनि गर्नुभयो । नागरिकलाई मन्त्रिपरिषद् पुनर्गठन भन्दा विकास र समृद्धि चाहिएको उहाँले बताउनुभयो । सत्ताको द्वन्द्व हुँदा नागरिकलाई सन्तोषको अनुभूति नभएको उहाँको भनाइ छ । १४ महिनामा तीन पटक गठबन्धन परिवर्तन हुँदा देशमा अस्थिरता बढ्ने उहाँले बताउनुभयो । यसको सबैभन्दा बढी प्रभाव प्रदेश सरकारमा पर्ने तर्फ उहाँले सचेत गराउनुभयो ।

सरकार परिवर्तनले गलत कुरालाई प्रश्रय दिने काम गरेको उहाँले प्रष्ट पार्नुभयो । अभियोग लागेको कोही पनि मान्छे मन्त्रिपरिषद्मा बस्न हुँदैन भनेर तत्कालीन प्रतिपक्षले दबाब दिइरहेको बेला बनेको नयाँ मन्त्रिपरिषद्का मानिसहरू पनि सहकारी ठगीको अभियोग लागेका मानिस रहेको उहाँले प्रष्ट पार्नुभयो । तथापि यो सरकार लामो समय टिक्नु पर्ने उहाँको धारणा छ ।

नेपाली कांग्रेस संसदमा तर्क र तथ्यमा उभिएर जिम्मेवार रूपमा प्रस्तुत हुने उहाँले बताउनुभयो । कांग्रेस संसद्मा विरोध र गालीगलौजमा नउत्रिने उहाँले प्रष्ट पार्नुभयो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल धोका दिने नायक नै भएको उहाँले बताउनुभयो । विगतमा एमालेलाई धाका दिनुभएका प्रचण्डले अहिले कांग्रेसलाई धोका दिनुभएको उहाँले बताउनुभयो । कांग्रेस सरकार बनाउनको लागि कसैको ढोका ढोकामा धाउनु नहुने उहाँले प्रष्ट पार्नुभयो । धोका खानेहरू सबै एक ठाउँमा आए भने देशको अवस्था राम्रो हुने र राजनीति सुध्रिने उहाँले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !