१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रचण्डसँग सहकार्य थाल्यौं – एमाले

प्रकाशित मिति :  २५ फाल्गुन २०८०, शुक्रबार ०८:१४


काठमाडौं । नेकपा एमालेले मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि नयाँ सहकार्य थालिएको प्रष्ट पारेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले मुलुकलाई संकटबाट पार लगाउँदै जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसाबले एमालेको तर्फबाट सकारात्मक योगदान गर्न नयाँ सहकार्य थालिएको निष्कर्ष निकालेको हो ।

सोही निष्कर्षसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सत्ता सहकार्य थालिएको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले बताउनुभयो । ’आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ, त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसाबले एमालेको तर्फबाट सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा हामी रहेका छौं’ – उहाँले भन्नुभयो ।

जनताको निराशालाई आशामा बदल्न, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउन, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र त्यसले अनुकूलता सृजना गरेको छ भन्ने पार्टीको मान्यता रहेको महासचिव पोखरेलले बताउनुभयो ।

नयाँ सहकार्य फलदायी हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । ’मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रिय हितका प्रश्नमा, विकास र समृद्धिका प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा यो सहकार्य फलदायी हुनेछ भन्ने विश्वास राखेका छौं’– महासचिव पोखरेलले भन्नुभयो ।

नयाँ समीकरणलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको उहाँले बताउनुभयो । नयाँ गठबन्धनलाई समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई अनुरोध गर्ने निर्णय भएको पनि महासचिव पोखरेलले बताउनुभयो । ’प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको नेतृत्वमा पाँच राजनीतिक दलहरू सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं, यो नयाँ प्रक्रियामा साथ समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेका छौं, अन्य राजनीतिक दललाई पनि यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अनुरोध गरेका छौं’– उहाँले भन्नुभयो ।

देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्र केही हुन सक्छ भन्ने सकारात्मक भावनाको विकास गर्ने प्रयास सरकारको तर्फबाट अगाडि बढ्ने भन्दै महासचिव पोखरेलले त्यसमा एमालेको पूर्ण सहयोग रहने बताउनुभयो ।

बैठकले वैशाख ८ र ९ गते बस्नेगरी महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गरिने पनि महासचिव पोखरेलले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !