१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आन्दोलनमा ज्यान गुमाएको पदम लिम्बूको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने कोशी सरकारको निर्णय

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ०७:३२


विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा ज्यान गएका पदम लिम्बूको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने भएको छ ।

आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले राहत सहयोग दिने निर्णय गरेको हो ।

प्रदेशसभाले तत्कालीन प्रदेश एक को ‘कोशी’ नामकरण गरेपछि असन्तुष्ट बनेका पहिचान पक्षधरले आन्दोलन गरेका थिए ।

आन्दोलनका क्रममा विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच पटक पटक झडप भएको थियो ।

त्यस क्रममा गत वर्ष चैतमा भएको कोशी नाम खारेजीको मागसहितको आन्दोलनका क्रममा विराटनगरमा भएको प्रदर्शनमा पदम लिम्बू लाजेहाङ घाइते भएका थिए ।

उपचारका क्रममा केही दिनपछि उहाँको ज्यान गएको थियो । उहाँका परिवारलाई राहत दिने सरकारले निर्णय गरेको हो ।

यसैगरी, आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

उक्त समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचारलगायत विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताउनुभयो ।

प्रदेश सरकार र पहिचान पक्षधर संगठनका प्रतिनिधिबीच पछिल्लो पटक दुई चरणमा वार्ता समेत भएको थियो ।

वार्तामा पुनः नामकरणको विषय उठाइएको थियो । त्यस सम्बन्धमा थप छलफल गर्ने गरी दुई पक्षबीच वार्तालाई निरन्तरता दिने सहमति भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !