१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालको समृद्धि कृषिबाट नै सम्भव छ – केपी शर्मा ओली

प्रकाशित मिति :  १९ फाल्गुन २०८०, शनिबार ०६:५५


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समृद्धि कृषिबाट नै सम्भव भएको बताउनुभएको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ को मगरगाउँ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले जनताको जीवनस्तर उकास्नको लागि उत्पादन र बजारीकरणमा ध्यान दिनु पर्ने बताउनुभयो । ओलीले राजनीति दलहरू अब जनताको जीवनस्तर परिवर्तनको काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।

जनताको जीवन परिवर्तनको लागि सिप र प्रविधिमा जोड दिनु पर्ने ओलीले बताउनुभयो । ‘अब राजनीति र संगठन मात्र भनेर हुँदैन, जनताको जीवनस्तर परिवर्तन ल्याउनका लागि विभिन्न सीपका तालिम सिकाउने र उत्पादित सामग्रीलाई बजारसम्म पुर्‍याउन सिकाउनेतर्फ लाग्नु पर्छ’, ओलीले भन्नुभयो ।

नेपालमा ठाउँ अनुसार फरक फरक उत्पादन हुने भएकोले ठाउँ अनुकूलका सीप विकास गरी उत्पादनमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । यसको लागि संगठित प्रयास आवश्यक रहेको ओलीले बताउनुभयो । यसले उत्पादनमा विविधता ल्याउने र सहजै बजार पाउने ओलीको धारणा छ ।

ओलीले कोन्ज्योसोम क्षेत्रमा फूल मात्र लगाउने हो भने पनि प्रशस्त आम्दानी गर्न सकिने बताउनुभयो । खाली जमिनमा खुर्सानी, बेसार लगायतका छिटो नबिग्रने र सुकाएर बिक्री गरी राम्रो आम्दानी हुने खेती लगाउन उहाँले सुझाव दिनुभयो ।

ओलीले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रम अन्तर्गत गाउँ गाउँमा बजेट पठाए पछि गाउँको विकासले गति लिएको बताउनुभयो । सो अभियानलाई आफू प्रधानमन्त्री हुँदा थप तीव्र बनाएको भए पनि गठबन्धन सरकार बनेपछि विकासका काम रोकिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा शिक्षा, स्वास्थ्य पूर्वाधार विकास, आर्थिक सामाजिक विकासका अनेक काम गरेको ओलीले बताउनुभयो । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि विभिन्न आयोजनामार्फत गाउँमा बजेट पठाएको उहाँले स्मरण गराउनुभयो ।

ओलीले कृषि विकासका लागि नेपाल न्युजिल्याण्डभन्दा बढी सम्भावना रहेको देश भएको बताउनुभयो । कृषिबाट देशका जनतालाई खान, लगाउन पुर्‍याउने मात्र नभई कृषि उपज निर्यात गरेर जनतालाई सम्पन्न बनाउन सकिने उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल, एमाले वाग्मती प्रदेश सचिव नवराज सिलवाल, एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य, कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामासहित सहितको सहभागिता रहेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !