१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधन

प्रकाशित मिति :  १४ फाल्गुन २०८०, सोमबार १६:४०


काठमाडाैं । वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ ।

उहाँकाे साेमबार८१ वर्षको उमेरमा निधन भएको संगीतकार हरि लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको निधन भएकाे हाे ।

उहाँका जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने, सबै बेहोसी नशा पिएर, जीवन भन्नु त घात छ लगायत थुप्रै गीत कालजयी छन् । आचार्यले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीतमा स्वर तथा संगीत दिनुभएकाे छ । आचार्य स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुनुहुन्छ ।

०४६ साल मंसिर १९ गते बौद्धमा उहाँमाथि सांघातिक हमला भएको थियो । साे हमलामा उहाँकाे टाउकाे गम्भीर चाेट लागेपछि सय वटा टाँका लगाइएकाे थियाे । २०४९ सालमा उहाँकाे जिब्रोमा खटिरा देखियाे । परीक्षणका क्रममा २०५० सालमा उहाँलाई जिब्राेकाे क्यान्सर भएको पुष्टि भएको थियो । त्यसपछि उहाँकाे जिब्राे काटिएकाे थियाे ।

त्यसपछि उहाँकाे गायन यात्रामा पूर्णबिराम लागेकाे थियाे । गाउन नसकेपनि उहाँ बाेल्न भने सक्नुहुन्थ्याे ।

आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ निर्माण भएकाे थियाे । उहाँको जीवनी फिनिक्स बुक्सले बजारमा ल्याउने तयारी गरिरहेको छ ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने बताइएकाे छ ।

आचार्यका दुई छोरा सत्य र स्वरुप आचार्य गायक क्षेत्रमै स्थापित हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !