६ असार २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

घट्दै ठेकाठेकीको माग

प्रकाशित मिति :  २ फाल्गुन २०८०, बुधबार १०:५७


लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक बेँसीका ३५ वर्षीय राजेन्द्र विकलाई परम्परागत काठका ठेकी व्यवसायबाट जीविकोपाजृनमा समस्या हुन थालेको छ । विसं २०७२ देखि श्रीकृष्ण हस्तकला उद्योग दर्ता गरेर ठेकी व्यवसाय सुरु गर्नुभएका विकलाई हिजोआज ठेकी बिक्री हुन छाडेपछि समस्या हुन थालेको हो ।

परम्परागत रुपमा गाईभैँसी पाल्ने किसान घट्दै जाँदा र आधुनिक सामग्री प्रयोग गर्न थालेसँगै काठका ठेकीको व्यवसाय कम हुन थालेको भन्दै यो पेसाबाट जीविकोपार्जनमा समस्या हुन थालेको विकले बताउनुभयो । परम्परागत काठका ठेकी बनाउने पेसाबाटै आफ्ना बाबा र ठूलो दाइले परिवार सहज रुपमा चलाए पनि यहीँ पेसा आफूले गर्दा आम्दानी हुन नसकेको उहाँको भनाइ थियो ।

विकले बाबापछि दाजुले चलाएको र दाजुपछि त्यही कारखानामा आफूले काठका ठेकी बनाउँदै आएको बताउनुभयो । कुमालको चक्र जस्तै घुम्ने बिजुलीको मेसिनमा बिहानदेखि साँझसम्म ठेकी बनाउने कारखानामा उहाँ व्यस्त हुनुहुन्छ ।

उहाँले ठेकी बनाउनका लागि जस्तापाताको छानाभित्र लडिरहेका काठका मुढालाई सुम्सुम्याउँदै कहिले यता र कहिले उता पल्टाउनुहुन्छ । कुन काठबाट कस्तो र कुन आकारको बनाउने भन्नेमा आफ्नो दिन बित्ने राजेन्द्रले बताउनुभयो । लामो फलामको छिनो, धारिलो टुप्पो अलिअलि कुप्रिएको त्यही छिनोले काठका मुढा कोट्याएर काठका ठेकी तयार गर्दै बिक्री गरेर आम्दानी हुने उहाँको भनाइ थियो ।

योबाहेक अन्य पेसा नभएकाले काठका सामग्री बिक्री नहुँदा परिवारको गुजारा चलाउनका लागि छिमेकीसँग सरसापट गर्दै आउनुपरेको विकले गुनासो गर्नुभयो । आफू एक्लैले दैनिक दुई÷तीन वटासम्म ठेकी तयार गरे पनि ठेकीको माग नहुँदा, बजार अभावलगायत कारणले आम्दानी घटेको भन्दै पेसा नै छाड्ने अवस्था आउन लागेको उहाँले बताउनुभयो ।

विकले यसअघि विभिन्न देशमा काम गरेर स्वदेश फर्किनुभएको थियो । तीन÷चार पटक विभिन्न देशमा पुगे पनि राम्रो आम्दानी प्रशस्त नभएपछि स्वदेश फर्किएको विकले बताउनुभयो । “सन् २००५ मा कतारमा दुई वर्ष काम गरेँ । महिनाको रु सात÷आठ हजार मात्र कमाइ हुन्थ्यो । यहाँ गर्दै आएको काम छाडेर सन् २००९ मा साउदी गएँ र सन् २०१३ मा फर्किएँ”, उहाँले भन्नुभयो ।

विकले विदेशमा मासिक रु २२ हजारसम्म कमाइ हुने गरेको बताउनुभयो । “न विदेशमा राम्रो कमाइ भयो, नत स्वदेशमा नै । आफूसहित परिवारमा श्रीमती र तीन छोरा गरी पाँचको परिवारको जीविकोपार्जनमा समस्या हुन थालेको छ”, उहाँले भन्नुभयो ।

काठबाट थाल, कचौरा, पानी खानो करुवा, बत्ती बाल्ने दियो, काठका पाला, वाइन कप, ठेकीलगायत सबै सामग्री बनाउने गरेको विकको भनाइ थियो । उहाँका अनुसार रु चार सयदेखि १५ हजारसम्मको प्रति सामग्री तयार हुन्छ । गतवर्ष रु पाँच लाख बराबरको काठका सामग्री बिक्री गरेपनि घाटा भएको उहाँले बताउनुभयो ।

दुई जना मान्छे राखेर मासिक प्रतिव्यक्ति रु २० हजारका दरले पारिश्रमिक दिएर दुई महिना काम लगाउँदा आम्दानी हुन नोक्सानी भएको विकले बताउनुभयो । गत चैतैदसैँदेखि दोर्दी गाउँपालिकाले केही सामग्री खरिद गरेर लैजाने गरेको उहाँको भनाइ थियो ।

विकले गत मङ्सिरयतादेखि व्यवसाय नभएको भन्दै साउनदेखि कात्तिकसम्म केही मात्रा बिक्री भएको बताउनुभयो । व्यापार हुएको समयमा दैनिक रु पाँच सय भन्दाबढी बचत हुने उहाँको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीले परम्परागत काठका ठेकी बनाउने व्यवसाय लोप हुँदै गएको भन्दै यसको संरक्षणमा आफू लागिपरेको बताउनुभयो । विगतमा धेरै ठाउँमा यस्ता सामग्री बनाउने भए पनि अहिले पालिकाभरी दुई जना मात्र रहेको जनाउँदै उहाँले पालिकाले उनीहरुले उत्पादन गरेका ठेकीको प्रवद्र्धन गर्न थालेको जानकारी दिनुभयो ।

पालिकाले मायाको चिनो स्वरुप उनीहरुले बनाएको ठेकी दिन थालेको भन्दै विद्यालय तथा अन्य महोत्सवहरुमा पनि मायाको चिनोस्वरुपत् यस्ता ठेकी दिनलाई उहाँले सबैलाई आग्रह गर्नुभयो ।

उहाँहरुले आधुनिक मेसिन पालिकासँग माग गरे पनि तत्काल बजेट नभएकाले उपलब्ध गराउन नसकिएको अध्यक्ष अधिकारीको भनाइ थियो । आगामी आर्थिक वर्षमा अत्याधुनिक उपकरण उपलब्ध गराउने योजना पालिकाले बनाएको उहाँले जानकारी दिनुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !