१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मतदाता नामावलीमा नाम दर्ता गर्न आयाेगकाे आग्रह, अब देशभर २३ ठाउँमा उपचुनाव हुने

प्रकाशित मिति :  २२ माघ २०८०, सोमबार ०७:०३


काठमाडाैं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहगरी देशभर रिक्त रहेका २३ ठाउँमा उपचुनाव गर्ने तयारी भइरहेकाे भन्दै आयाेगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई साेमबार सूचनामार्फत नाम दर्ताका लागि आह्वान गरेको हो ।

०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन, ०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव सम्पन्न भएपछि स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका २३ पदहरू रिक्त भएकाले ती पदमा कानुन बमोजिम उपचुनाव मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेकाे आयाेगले जनाएकाे छ ।

उपचुनावद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपचुनावको मिति तोक्ने गरी आन्तरिक तयारी थालेकाे सूचनामा उल्लेख छ । उपचुनावकाे सन्दर्भमा आइतबार मात्र आयाेगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग परामर्श गर्नुभएकाे थियाे ।

आयाेगका अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपचुनावको मिति घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयाेगले आग्रह गरेकाे छ ।

आयोगले नियमित रुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको स्मरण गराएकाे छ ।नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराइएकाे आयाेगले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !