१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धरहरामा पार्किङ बन्द गर्नु भन्दै आएको पत्रप्रति बालेन शाहकाे आक्रोश

प्रकाशित मिति :  २२ माघ २०८०, सोमबार ०६:५०


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले धरहरामा पार्किङ बन्द गर्नु भन्दै आएको पत्रप्रति आक्रोश व्यक्त गर्नुभएकाे छ ।

धरहराको बेसमेन्टकाे पार्किङ अहिले प्रयोग नगर्न भन्दै शहरी विकास मन्त्रालयकाे पत्र आएपछि मेयर शाह आक्राेशित हुनुभएकाे हाे ।मन्त्रालयले धरहराको बेसमेन्टमा नि:शुल्क पार्किङ गराएको भन्दै महानगरको ध्यानाकर्षण गराएको थियो । त्यसकाे जवाफमा मेयर शाहले धरहरामा सुरु भएको नि:शुल्क पार्किङ बन्द नहुने चेतावनी साेमबार सामाजिक सञ्जालमार्फत दिनुभएकाे छ ।

धरहराकाे पार्किङ ठेक्का लिएर नेपाल सरकारकाे सम्पत्तिमाथि रजाइँ गर्ने मनशाय रहेकाे उहाँकाे ठहर छ । सर्वसाधारणका लागि खुला गरिएकाे पार्किङ कुनै हालतमा बन्द नहुने मेयर शाहले उल्लेख गर्नुभएकाे छ । ‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेका लागि नि:शुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौं, अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको छ, हामी काठमाडौं महानगरमा रहुञ्जेल कसैकाे निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिनेछैनौं’- उहाँले लेख्नुभएकाे छ ।

निर्माण सम्पन्न नभइ उद्घाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गर्नुपर्ने मेयर शाहले उल्लेख गर्नुभएकाे छ ।

न्युराेडमा पार्किङ निषेध गरेकाे महानगरले हाललाई धरहराकाे पार्किङ नि:शुल्क रुपमा सर्वसाधारणका लागि उपलब्ध गराएकाे छ ।

यस्ताे छ मेयर शाहकाे स्टाटस:

०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ” सेतो टावर ” उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, “आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ” ।

तर केहीदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’

उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।

अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !