१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जाजरकोटमा कुटिएकी चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा बसेको खुलासा, भइन् डिपाेर्ट

प्रकाशित मिति :  १८ माघ २०८०, बिहीबार ०६:५४


काठमाडौं । जाजरकोटमा कुटिएकी चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा बसेको खुलेकाे छ ।

जाजरकाेटका भूकम्प पीडितलाई राहत वितरण गर्ने क्रममा कुटिएकी चिनियाँ सोउ सिच्याङ गैरकानुनी रुपमा नेपाल बसेकाे पुष्टि भएकाे हाे ।ईजे ८०२६७९५ राहदानी नम्बर बाहक सिच्याङ भिसा म्याद सकेर नियमित नगरी ओभरस्टे गरेर बसेको पाइएपछि उनलाई डिपोर्ट (नेपालबाट निष्कासन) गरिएकाे हाे ।

उनलाई नेपालबाट निष्कासन गर्न गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएको छ । ‘विभागको चलानी नम्बर ७९२ मिति २०८०-०८-२८ को पत्र साथ प्राप्त फाइल अनुसार भिसा नियमित नगरी ओभरस्टे भएका देहायका विदेशी नागरिकलाई अध्यागमन ऐन, २०४९ को दफा ९ तथा अध्यागमन कार्यविधि २०६५ को दफा ६.३ (२) देहायको (१०) बमोजिम यस भिसा वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न २०८०-०९-०२ मा (नि. सचिवस्तरीय) निर्णय भएकोले उक्त निर्णयको सक्कलै फाइल आवश्यक कार्यार्थ फिर्ता पठाएको व्यहोरा अनुरोध छ’- पत्रमा लेखिएकाे छ ।

संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टकी मुख्य निर्देशक समेत रहेकी सिच्याङलाई अध्यागमन विभागले १५ हजार रुपैयाँ जरिवाना गरेकाे छ । भिसा अवधि भन्दा बढी समय नेपाल बसेपछि उनलाई साे जरिवाना गरिएकाे विभागले जनाएकाे छ ।

गत मंसिरमा जाजरकोटमा भूकम्प पीडितका लागि राहत लिएर गएकी सिच्याङमाथि माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेका थिए । सिच्याङमाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई पार्टीले स्पष्टिकरण साेधेकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !