५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको गयाे ज्यान

प्रकाशित मिति :  ९ मंसिर २०८०, शनिबार ०२:४०


लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको ज्यान गएकाे छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन भएको हो ।

क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो ।

मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताउनुभयो ।

पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले क्ष्ेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो ।

छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस !