८ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन 

प्रकाशित मिति :  २६ भाद्र २०८०, मंगलवार ०१:३७


काठमाडाैं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएकाे छ ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङकाे मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो ।

हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगिसक्नुभएकाे छ ।

२००९ फागुन २८ गते इलाममा जन्मिनुभएका नेम्वाङ इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आउनुभएकाे थियाे ।

२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बन्नुभएकाे उहाँ २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बन्नुभएकाे थियाे ।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएकाे नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बन्नुभएकाे थियाे । उहाँकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो।

स्नातक अध्ययनका क्रममा २०२८/२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्थ्याे । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बन्नुभएकाे हाे ।

पञ्चायती निरङ्कुशताविरूद्धको राजनीतिक आन्दोलनका क्रममा पटक-पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल पर्नुभएकाे थियाे ।

वरिष्ठ अधिवक्ता समेत रहनुभएका नेम्वाङले केही समय नेपाल ल क्याम्पस समेत पढाउनुभएकाे थियाे । प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुनुहुन्छ ।

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता हुनुहुन्थ्याे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !