१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हुलाकी सडकः निर्माण ढुलासुस्तीले म्याद थप अलमल

प्रकाशित मिति :  १९ भाद्र २०८०, मंगलवार ०५:१६


महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचाँैपटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको छैन ।

म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले काम थाल्ने अवस्थामा मात्रै म्याद थप हुनसक्ने सङ्केत गर्नुभयो ।

“काम नगर्ने र म्यादमात्रै थप्ने वातावरण देखिए ठेक्का तोड्ने स्थिति छ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको काममा म्याद थपको निक्र्यौल लाग्छ ।” पुर्नबास नगरपालिकाको डोकेबजारबाट बेदकोट नगरपालिकाको दैजीचोकसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि विसं २०७३ फागुनमा काम सम्झौता भएको थियो ।

तीस महिनामा सक्ने गरी तीनवटा प्याकेजमा सम्झौता भए पनि पाँचौँपटकको म्यादमा रहेर पहिलो प्याकेज (डोकेबजार–बेलौरी) खण्डमात्रै सकिएको हुलाकी राजमार्ग योजना कार्यालयको भनाइ छ । यहाँ बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडकमात्रै कालोपत्र भएको छ ।

उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । उक्त निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी योजना कार्यालयको सम्र्पकमा समेत नरहेको बुझिएको छ । सो प्याकेजको पहुँच क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न अवरोध छ ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २४ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडकमात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताउनुभयो । “उक्त अन्तिम प्याकेजको म्याद थप अन्योल भएकाले निर्माण व्यवसायीले काम गरेको रु ६५ लाख रकम दिन पनि बाँकी छ”, उहाँले भन्नुभयो, “दोस्रो प्याकेजको काम यही निर्माण व्यवसायीले गर्नेमा आशङ्का देखियो ।”

लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने भए पनि बेवास्ता गरेको देखिएको छ । “अब ढिलोमा छ–सात महिनामा सकिने काममात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “तर काम गर्ने माहोल नदेखाएकाले समस्या भएको हो ।”

त्यसैगरी कैलालीमा ७३ विभिन्न खण्डमा निर्माण भइरहेको छ । “कैलालीमा हुलाकी सडकका सबै प्याकेजको म्याद रहेकाले काम भइरहेको छ”, इन्जिनियर सुनारले भन्नुभयो, “तर यस वर्ष बजेट कम विनियोजन भएकाले योजनाका लागि आर्थिक अभाव हुनसक्छ ।” हुलाकी सडक निर्माणमा कैलाली र कञ्चनपुरमा अर्बौँ रकम खर्चिएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !