१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नागको पूजा आराधना गरी मनाइयाे नागपञ्चमी

प्रकाशित मिति :  ४ भाद्र २०८०, सोमबार ०८:३८


काठमाडौं । नागको पूजा आराधना गरी घरकाे मूल ढोकामा नागकाे फाेटाे टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा आरधना गरी घरका मूल ढोकामा नागकाे तस्विर टाँसेर नागपञ्चमी मनाउने गरिन्छ । दूध, दुबो, जल चढाएर धूपधुवाँर गरी नागको पूजा गरिन्छ ।

नागपञ्चमीको दिन अनन्त, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको विशेष पूजा गरिन्छ । नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने परम्परा छ ।

नागपञ्चमीका दिन नागको तस्विरलाई घरको मूल ढोकामा टाँसी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । अष्टनागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत विषालु जीवले दुःख नदिने धार्मिक विश्वास छ । नागकाे तस्विर टाँस्दा अग्नि, मेघ र चट्याङबाट समेत बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नाग पञ्चमीका दिन नाग देवताको मन्दिरमा पनि विशेष पूजा हुने गर्छ । नागपञ्चमीको अवसरमा आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतक परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लागेको थियो । काठमाडौंको नागपोखरीमा त विशेष मेला नै लागेको छ ।

घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायत घिस्रने जीवलाई मार्नु हुँदैन भन्ने मान्यता छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने मान्यता छ ।

नाग पञ्चमीकाे दिनदेखि हिउँद सुरू हुन्छ भन्ने जनमान्यता समेत छ । नाग पञ्चमीकाे दिनदेखि नेपाली चाडपर्व सुरु हुने विश्वास समेत गरिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !