२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा बैंक खाेल्ने तयारीमा चीन !

प्रकाशित मिति :  २ भाद्र २०८०, शनिबार १२:४५


काठमाडौं । नेपालमा चिनियाँ बैंक आउने कुरा हाल चर्चाको विषय बनेको छ । शक्ति राष्ट्र चिनले नेपालमा बैंक खोल्ने तयारी गरेको कुरा चर्चाको शिखरमा पुगेको छ ।

केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले नेपालमा बैंक खोल्न चाहेको बताएपछि हाल विश्व अर्थ बजारमा एक प्रकारको तरङ्ग पैदा भएको छ ।

नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको चीनको हाल पनि नेपालमा थुप्रै लगानी मात्र छैन । भौतिक निर्माणका परियोजनासमेत सञ्चालित छन् ।

चीन नेपालमा प्रत्यक्ष रुपमा वित्तीय उपस्थिति जनाउन चाहेको र नेपालमा चिनियाँ लगानीको बैंक खोल्नेबारे आवश्यक काम भइरहेको राजदूत सोङ्गको भनाइ थियो ।

यद्यपी कुन मोडालिटीमा चीनले नेपालमा बैंकिङ्ग लगानी गर्न लागेको भन्ने कुरा भने प्रष्ट हुन सकेको छैन । चीनले लाइसेन्स नै लिएर नेपालमा बैंक खोल्न लागेको हो या चिनियाँ बैंकको कुनै शाखा नेपालमा विस्तार गर्न लागेको हो भन्ने कुरा अझैं प्रष्ट रुपमा भने खुलाइएको छैन ।

नेपालमा हालसम्म कुनै पनि बैंकमा चिनियाँ लगानी छैन । तर, अन्य केहि देशको भने यहाँका बैंकमा प्रत्यक्ष लगानी रहेको छ ।

भारत, पाकिस्तान साथै बेलायतको लगानी नेपाली बैंकमा छ । एसबीआई बैंक र एभरेष्ट बैंकमा भारतको प्रत्यक्ष लगानी छ । नेपालमा रहेको एसबीआई बैंकमा भारतीय सरकारी बैंक एसबीआईको प्रत्यक्ष लगानी छ भने एभरेष्ट बैंकमा पञ्चाब नेशनल बैंकको २० प्रतिशत सेयर लगानी छ ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत लगानी छ ।

यसैगरी बेलायती लगानी रहेको स्ट्याण्डर्ड चाटर्ड बैंकमा १७ प्रतिशत विदेशी लगानी छ ।

नेपाल बंगलादेश बैंकसँग गत वर्षमात्र मर्जरमा गएको नबिल बैंकमा बंगलादेशको आइएफआईसी बैंकको करिब ७.७ प्रतिशत लगानी छ ।

यसैगरी एनएमबी बैंकमा नेदरल्याण्डको डच डेभलपमेन्ट बैंकका तर्फबाट एफएमओको १३.६९ प्रतिशत लगानी छ ।

तर, अब नेपालमा चिनियाँ लगानीको बैंक पनि थपिने सम्भवना बढेको छ । नेपालमा चिनियाँ बैंक आउनु नेपालका लागि खुसीको कुरा भएको गभर्नरहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !