२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वमै उत्कृष्ट नेपाली चिया, तर, भारतले घाँटी निमोठ्दै छ

प्रकाशित मिति :  ७ श्रावण २०८०, आईतवार ०९:०५


काठमाडौं । मीठो र स्वस्थकर चियाको प्रतियोगिता हुन्छ भन्ने तपाईंहरु कसकसलाई थाहा छ ? अमेरिकाको कोलोराडोमा सन् २०१५ भएको चिया प्रतियोगितामा नेपालको हिमालयन गोल्डन चिया प्रथम भयो ।

चियाका अन्तर्राष्ट्रिय विज्ञहरुले नेपाली कालो चियालाई उच्च गुणस्तरको भन्दै प्रथम बनाएका थिए । त्यसपछि अमेरिकामा नेपालको चिया निर्यात बढ्नुपर्ने हो तर बढेन । किनभने अमेरिकामा चिया एकदमै कम खपत हुन्छ, त्यहाँ चियाभन्दा कैयन गुणा कफी खपत हुन्छ ।

यही वर्ष नेपालले अर्काे उपलब्धी हात पार्यो । चीनको चिया उत्पादहरुको संस्थाले चिया प्रतियोगिता आयोजना गरे । नेपाली चिया विश्वमा प्रथम भयो । त्यसपछि चीनले नेपाली चियालाई प्राथमिकता साथ आयात गर्ने निर्णय गर्यो ।

नेपाली चिया विश्व प्रसिद्ध बन्दै जाँदा टाउको दुख्यो भारतको । विश्व बजारमा भारत र नेपालका चियाले प्रतिस्पर्धा गर्दै आएका थिए । भारतको आन्तरिक बजार पनि ठूलो छ । नेपाली चिया उत्कृष्ट भन्दै विश्वव्यापी प्रचार भएपछि भारतले त्यही गर्यो, जे उसले परम्परागत रुपमा गर्दै आएको छ । भारतले नेपाली चिया गुणस्तरहीन छ भन्दै प्रचार युद्ध थाल्यो । कतिसम्म भने भारतीय संसद्मा एक प्रस्ताव लगियो नेपाली चिया गुणस्तरहीन छ भनेर । नेपालको गुणस्तरहीन चिया आयात गर्न सुरुमा परिमाणात्मक बन्देज लगाउने । त्यसपछि पूर्ण बन्देज लगाउने प्रस्ताव भारतको माथिल्लो सदन राज्यसभामा लगिएको हो ।

नेपाली चियाको ठूलो हिस्सा भारत निर्यात हुने गरेको थियो । भारतको अक्सन मार्केटमा नेपाली चिया लिलामी हुने गरेको थियो ।

भारतीयहरुले उच्च मूल्य तिरेर नेपाली चिया किन्थे, त्यसपछि भारतको उत्पादन भनेर विश्व बजारमा पठाउँथे ।

भारतले नेपाली चियालाई प्रतिवन्ध लगाउनुको अर्काे कारण पनि छ । नेपालले आफ्नो चियाको विश्वव्यापी ब्राण्डिङ गरेको थिएन । मुख्यगरी भारतलाई बेचेकै भरमा चलेका थिए नेपाली चिया बगानहरु । पछिल्लो केही समयदेखि अन्तराष्टिय प्रतियोगितामा विजेता बनेर नेपाली चिया चम्कन थाल्यो भने नेपाल आफैंले पनि विश्व बजारमा ब्राण्डिङ गर्न थाल्यो ।

भारतलाई यो कुरा चित्त बुझेन, त्यसैले नेपाली चियालाई सत्रुको व्यवहार गरेर सिध्याउने प्रयास गरिरहेको छ ।

भारतले नकिन्ने भएपछि नेपाली चिया व्यवसायीहरु चिन्तित बनेका छन् । चिन्ता स्वाभाविक हो । किनभने नेपालले तेस्रो मुलुकमा चिया निर्यात गर्ने नेटवर्क बनाएको छैन, नेपालमा उत्पादन भएजति चिया तत्कालै तेस्रो मुलुक निर्यात सम्भव छैन ।

नेपालले निर्यात गर्ने सम्भावित देश चीन हो । तर, चीन निर्यात गर्न नेपालले केही झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने हुन्छ । चीनमा नेपाली चियाको पर्याप्त माग भए पनि झन्झटिलो प्रकृयाका कारण अहिले नै ठूलो परिमाणमा निर्यात हुने अवस्था छैन । यही कारण चिया व्यवसायीहरु चिन्तित भएका हुन् ।

यो चिन्ताभित्रको अर्काे चिन्ताको कुरा पुष्पकमल दाहाल प्रचण्ड सरकारको नीति पनि हो । प्रचण्डको सरकार अहिले पूरै अमेरिकातिर ढल्किएको छ । चीनसँग सबै खाले सम्बन्ध तोड्न प्रचण्ड सरकार उद्यत देखिन्छ । चीनसँग चिया व्यापार बढाउँदा भारत र अमेरिका रिसाउँछन् कि भन्ने डर प्रचण्डलाई छ । त्यसैले सरकारले चीनमा चिया निर्यातलाई बढावा दिइरहेको छैन ।

भारतले घाटी निमोठेको र प्रचण्डको सरकारले उपेक्षा गरेको नेपालको चिया खेतीलाई कसरी बचाउने होला ? अहिले चिन्ता र चिन्तनको विषय भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !