१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कालिगड पेसाको संरक्षण गर्दै पौवादुङमा

प्रकाशित मिति :  २२ असार २०८०, शुक्रबार ०९:३३


काठमाडाैं । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि पौवादुङमा गाउँपालिकाले कालिगड पेसाको संरक्षण थालेको छ । आवश्यक औजार/उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेको कालिगड पेसा सङ्कटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो ।

दिनानुदिन पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि कालिगड पेसा गर्दै आएकालाई आवश्यक सामग्री सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । पालिका लोपोन्मुख पेसाको संरक्षणमा जुटेको उहाँको भनाइ थियो । “पछिल्लो समय शिक्षा तथा रोजगारीका सिलसिलामा कालिगड पलायन हुँदै गएका छन्”, अध्यक्ष राईले भन्नुभयो, “अहिले गाउँघरमा व्यावसायिकरूपमा यो पेसा गर्ने मान्छे पाउनै मुस्किल छ । औजार उपकरण बाहिरी बजारबाट किनेर ल्याउनुपर्ने अवस्था छ । यो पेसा/व्यवसायमा लागेकाहरूको तथ्याङ्क सङ्कलन गरेर पालिकाले आवश्यक सहयोग गरिरहेको छ ।”

खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेसा सङ्कटमा पर्दै गएकाले यसको संरक्षणमा लागिएको उहाँको भनाइ थियो । “जिल्लाभर नै कालीगड पेसा छाड्ने सङ्ख्या बढ्दो छ”, अध्यक्ष राईले भन्नुभयो, “यो पेसाको संरक्षण गर्नुपर्ने आवश्यक ठानेर अहिले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

पेसा छाड्नेको सङ्ख्या बढेसँगै गाउँघरमा औजार/उपकरणको अभाव हुन थालेपछि वडाका नागरिकलाई आवश्यक सहयोग गरेको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । पेसामा लागेका दुई परिवारलाई प्रोत्साहन स्वरुप आवश्यक आधुनिक सामग्री उपलब्ध गरिएको उहाँले बताउनुभयो ।

कालिगड पेसामा लाग्नेलाई आधुनिक उपकरणको प्रयोगमा जोड दिएको उहाँको भनाइ थियो । “पराम्परागतरूपमा काम गर्दा उहाँहरूलाई धेरै कठिन छ । विद्युतीय औजार उपकरणको प्रयोग गर्दा केही सहज हुने देखेर आवश्यक सामग्री सहयोग गरेका हौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो ।

खुकुरी बनाउने आरन सञ्चालकलाई रू ८० हजार बराबर आवश्यक सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । “पराम्परागत पेसा संरक्षण गर्ने उद्देश्यले यो पेसामा लागेका दुई परिवारलाई पौवादुङमा–१ श्यामशिलाले आवश्यक सहयोग गरेको छ”, उहाँले भन्नुभयो ।

सामग्री निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थसँगै सामुदायिक वनबाट सहजरूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको पौवादुङमा–१ श्यामशिलाका कालिगड कृष्णबहादुर विकले बताउनुभयो । विभिन्न कारणले पेसा सङ्कटमा परेको भन्दै स्थानीय सरकारबाट पाएको सहयोगले पेसामा लाग्न थप टेवा मिलेको उहाँको भनाइ थियो ।

नयाँ पुस्ताको रोजाइमा नपर्दा पेसा सङ्कटमा परेको भन्दै राज्यको तर्फबाट आवश्यक सहयोग हुनुपर्नेमा विकले जोड दिनुभयो । “अत्यावश्यक औजार/उपकरण बनाउने भए पनि यो पेसालाई अझै पनि अपहेलनाका रूपमा लिने चलन छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ता यो काम गर्न नै चाहँदैनन् । व्यवसाय सञ्चालन गर्न कोइला, दाप, बिँडका लागि काठ पाउनै मुस्किल छ । विविध कारणले पेसा छाड्नेको सङ्ख्या बढेको छ ।”

स्थानीय सरकारलाई कालिगड पेसामा आकर्षण बढाउन युवा पुस्तालाई आकर्षित गर्ने तथा सिप सिकाउने तालिम तथा योजना बनाउनुपर्ने विकले बताउनुभयो । उहाँले राज्यबाट आर्थिक सहयोग नभएमा कालिगड पेसा लोप हुने अवस्थामा पुग्ने बताउनुभयो ।

जनशक्तिको अभाव, आवश्यक सामग्रीको कमीलगायत कारणले मेहनत गरेअनुसारको प्रतिफल पाउन नसकेको कालिगड खड्गबहादुर विकले बताउनुभयो । राज्यले गरिरहेको सहयोगका कारण पेसालाई जीवन्त राख्न केही टेवा मिलेको उहाँको भनाइ थियो ।

“अन्य सहज काम खोज्ने र कालिगड पेसाबाट राम्रो आम्दानी नहुने देखेपछि खुकुरी बनाउनेको सङ्ख्या घट्दै गएको छ”, उहाँले भन्नुभयो, “पेसा छाडेर अन्य पेसा÷व्यवसायमा लाग्नेको सङख्या बढ्दो छ । यस्तै अवस्था रहे मैले गरेको काम अब मेरा छोरा/नातिले गर्छन् भन्ने आशा छैन ।” राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विकको भनाइ थियो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !