१४ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

प्रकाशित मिति :  २० असार २०८०, बुधबार ०९:३२


काठमाडौँ । पौराणिक कथा तथा किंवदन्तीहरूमा विश्वास गर्ने हो भने मानिसको सरदर आयु एक सय वर्ष हो । मन र शरीर स्वस्थ्य रहेमा त्यसभन्दा बढी पनि बाँचेका उदाहरणहरू छन् । कोही बुढ्यौली उमेरलाई ‘दिन काट्ने काल पर्खने’ भन्छन् त कोही ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश ।’ तथापि स्वस्थ्य मानिसहरूलाई उमेरले केही गर्दैन । प्रौढ मानिसले अरूलाई दिन सक्ने खास चिज हो –अनुभव । त्यो पनि लिखित रूपमा आएमा भविष्यका पुस्तालाई उपयोगी हुने छ ।

नेपालबाट बालकै कालमा म्यान्मा पुगी पुनः नेपालको मोरङ हुँदै हाल ललितपुर, कुुसुन्ती आइपुग्नुभएका इन्द्रमाया पौड्यालले आफ्नो सय वर्षे जीवनका तिनै अनुभव पस्केर पाठकहरूलाई गुन लगाउनुभएको छ । ‘शताब्दी –यात्रा’ (प्रकाशक स्वयं, २०८०) एउटी वृद्धाको देशविदेशमा रहँदाको दुःख, सङ्घर्ष र आनन्दानुभूतिको पनि कथा हो ।

मूल माइतीघर नेपालको ताप्लेजुङ हुनुभएका पौड्याल सानैमा परिवारसाथ म्यान्मा पुगी उतै बिहावारी भई पछि भारत हुँदै नेपाल फर्कनुभएको हो । नेपाल–भारत–म्यान्मा–भारत हुँदै फेरि नेपाल आइपुग्नुभएका उहाँ अन्य नेपाली नारीभन्दा यस अर्थमा फरक हुनुहुन्छ कि गीता पाठ गर्नुहुन्थ्यो, हिन्दू संस्कारका कर्मकाण्ड गराउनुहुन्थ्यो । महिलाहरूलाई स्वस्थानी व्रत समापन गराइदिने, बालकहरूको व्रतबन्ध गराइदिने, जनै बाट्ने जस्ता पुरुषले गर्ने काम पनि गर्न सक्ने उहाँको विशेषता थियो । उहाँको जिकिर छ, मूल संस्कृत रामायणमा नभएको दुई प्रसङ्ग भानुभक्तको ‘रामायण’ मा छैनन्– पहिलो रावणपत्नी मन्दोदरीको बालिसँगको सहबासपछि छोरा अङ्गद जन्मेको कुरा र दोस्रो ब्रह्माले रावणलाई दिएको कालवाण आफ्नो राजमहल निर्माण गर्दा जगमा लुकाएर राखेको कुरा । यदि यसो हो भने छुटेका कुरा थप्न सके भानुभक्तको ‘रामायण’ ले अझ पूर्णता पाउँथ्यो ।

आफूले जन्माएका पाँच छोराछोरी सानैमा बितेको, पतिको युवावस्थामा निधन भएको र परिवारका अन्य सदस्यको पनि मृत्यु भएको –यस्तो पीडा खप्नुभएका ‘माता’ ले नेपालमा विसं १९९० र ०७२ को भूकम्प तथा ‘बर्मा’ मा दोस्रो विश्वयुद्धको त्रासदी पनि भोग्नुभयो । राजा महेन्द्रका प्रयासबाट अन्य नेपाली परिवारका साथ भारत कोलकाता हुँदै नेपाल फिर्ती हुनुभएका उहाँको ११ जनाको परिवार मोरङ, तत्कालीन बर्दङ्गा गाउँपालिका, कल्याणपुर फक्र्याे र झोडा फाँडेर बस्न थाल्यो र ऋण लिएर बस्यो, साहुले जाली तमसुक बनाएर घरबार उठायो र कनिका खाँदै दुःखका अरू दिन काट्यो । तैपनि उहाँले ससानो चियापसल गर्दै गाउँका बालबालिकालाई कखरा, नेपाली र संस्कृत भाषा पढाउँदै जीवन चलाउनुभयो । उहाँकै पिता दामोदर खतिवडाले काले राई (डा स्वामी प्रपन्नाचार्य) लाई बालकैमा पढाउनुभएको रहेछ । “शिक्षाले मानिसलाई आँट, साहस दिन्छ । सोचको दायरालाई र दृष्टिकोणलाई फराकिलो बनाउँछ । …नारी शिक्षाको महत्त्व कति छ भन्ने कुरा मैले आफ्नै जीवनबाट अनुभव गरेकी छु”, शतवर्षीया लेखिका पौड्याल भन्नुहुन्छ ।

पछि ज्वाइँछोरीहरूका सहायताले बेलायत, अस्ट्रेलिया भ्रमणका साथै भारत र नेपालका केही तीर्थस्थलको भ्रमण गर्नुभएका उहाँले केही दुर्घटना र स्वास्थ्य समस्या पनि निकै भोग्नुभयो । कान्छी छोरी बिमला पौड्यालले अन्तरजातीय विवाह गर्दा निकै पछि मात्र आफूले समर्थन दिएको, उनी परराष्ट्रमन्त्री हुँदा घरमा परिवारसहित खीर खाएको, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको, अङ्कबाट पनि भाषा अर्थात् कुराकानी गर्ने सूत्र जानेको जस्ता अन्य रोचक प्रसङ्ग पनि कृतिमा उल्लेख छ ।

कृतिको भूमिकामा पूर्वसांसद विन्दा पाण्डे(पिएचडी) लेख्नुहुन्छ, “जीवन बुझ्नु पहिला नै विवाह, प्रवासी जीवनले सँगालेका अनुभव, युद्धभूमिमा सामान्य नागरिकको जीवन र देश फर्कँदाको त्यो त्रासदीपूर्ण अवधिमा धैर्यमा तैरिएर पारि किनारा पुगेको जीवन साँच्चै साहसिक लाग्छ।” अरुणिमा बस्ती, कुसुन्तीमा मातासँग एउटै आवासीय क्षेत्रमा रहनुभएका वरिष्ठ पत्रकार युवराज घिमिरे पुस्तक एक व्यक्ति, एक नारी, एक योद्धा र एक विदूषी र एक आमाको रहेको रहेको जनाउनुहुन्छ भने पत्रकार अमृता लम्साल आइपर्ने कुनै पनि कठिन परिस्थितिमा आत्तिनुहुन्न र सुखद परिस्थितिमा मात्तिन हुन्न भन्ने पाठ उहाँको भोगाइले पढाउने विश्वास व्यक्त गर्नुहुन्छ ।

पत्रकार शुभेच्छाविन्दु तुलाधरले सम्पादन गर्नुभएको कृतिमा केही शब्दगत (‘अष्टवेद’–हुनुपर्ने अश्वमेध), वर्णविन्यासगत र व्याकरणगत त्रुटि तथा पुनरुक्ति जस्ता दोष छन् । आवरणपृष्ठमा कृतिको शीर्षक अपेक्षाकृत सानो अक्षरमा र लेखिकाको नाम कोष्ठमा राखिनुपर्नाको कारण बुझिएन । लेखिकाको वंशावली, सम्बन्धित तस्बिर र पत्रहरूले कृतिलाई अझ ओजपूर्ण बनाएको छ । हरेक मानिसले यसरी आफ्ना अनुभव बाँड्दै जाने हो भने हाम्रो इतिहास संरक्षण गर्न मद्दत पुग्ने छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !