२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मर्मतको पन्ध्र दिनमै बिग्रियो दमौली अस्पतालमा रहेको ‘डायलासिस’ उपकरण’

प्रकाशित मिति :  ४ असार २०८०, सोमबार ०४:४२


दमौली । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको हो ।

यसअगाडी वैशाखदेखि उक्त उपकरण बिग्रिएर बसेको थियो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक आएर उपकरण मर्मत गरिदिए पनि फेरि समस्या आएको दमौली अस्पताल मिर्गौला केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बल्ल बल्ल उपकरण बनेको थियो, फेरि समस्या आएर बिग्रियो । अहिले चार वटा मात्रै उपकरण सञ्चालनमा छ ।” पाँच मर्मतसहित यसअघि नौ वटा उपकरण सञ्चालनमा रहेकामा अब चार वटा उपकरणबाट मात्रै सेवा प्रवाह भइरहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिनुभयो ।

उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ उपकरण पठाएको छ । प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगेपनि जडान हुन बाँकी रहेको छ ।

चार उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको छ । केन्द्रले दैनिक बिहान ७ बजेदेखि राति ११ बजेसम्म डायलासिस सेवा सञ्चालन गरेको छ ।

केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् तर अझै ३० मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिदै छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमित रुपमा डायलासिस गराउनुपर्ने उनीहरुले हाल पोखरामा डायलासिस गरिरहेका छन् ।

उपचार केन्द्रमा डायलासिस गराइरहेका मिर्गौला पीडितले मिर्गौल प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गए मात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताउनुभयो । “ठाउँ खाली भए मात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरुले मिर्गौला प्रत्यारोपण गर्नुप¥यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुप¥यो”, उहाँले भन्नुभयो, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकालाई यहाँ डायलासिसको व्यवस्था मिलाउँछौँ ।”

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !