१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कर्मचारीले नै उजुरी लेखिदिने

प्रकाशित मिति :  १ असार २०८०, शुक्रबार ०७:२५


सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्करूपमा उजुरी लेखिदिने भएको छ । बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्करूपमा लेखिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

उहाँका अनुसार आफ्नै कार्यालयका कर्मचारीबाटै बिनापैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो । बाहिर लेखापढी गर्नेहरूसँग उजुरी लेखाउँदा पाँच सयदेखि एक हजारसम्म लिने गरेको सेवाग्राहीबाट गुनासो आएपछि कार्यालयकै कर्माचारीबाट निःशुल्क ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेको भनाइ थियो ।

ठाडो उजुरीसँगै समावेशी प्रमाणित, अन्य सिफारिस पनि कर्मचारीले निःशुल्क लेखिदिन थालेका छन् । सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाहका लागि कार्यालयले विभिन्न प्रयास गर्दै आइरहेको हो ।

कार्यालयमा शान्ति सुरक्षाको माग, लेनदेनको विवाद,साँध–सिमाना मिचिएको, गालीगलौजलगायत अन्य प्रकारका उजुरी गर्न आउने सेवाग्राहीले अब बाहिर लेखापढी व्यवसायीबाट पैसा तिरेर उजुरी लेखाइरहनु नपर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !