२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साइकलमा तीन महिला महाकालीबाट मेची आइपुगे

प्रकाशित मिति :  २६ बैशाख २०८०, मंगलवार १५:५०


-मिना विश्वकर्मा

दमक । महाकालीको गड्डा चौकीदेखि झापाको काकडभिट्टासम्मको यात्रा, त्यो पनि साइकलमा । तीनजना पत्रकार महिला कैयन दिनको साइकल यात्रापछि झापाको दमक आइपुग्नुभएको छ ।

गर्मी याम बीच उहाँहरुको साइकल यात्राको उद्देश्य हो, छुवाछूत तथा जातीय भेदभाव विरुद्ध चेतना फैलाउने । साइकल यात्रा गरिरहनुभएकी रीता बुढाथोकी भन्नुहुन्छ, हाम्रो उद्देश्य चेतना फैलाउने भन्दा पनि भेदभाव र छुवाछूत सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि दवाब सिर्जना गर्ने हो ।

साइकल यात्रामा रीतासँगै इन्दिरा विश्वकर्मा र संगीता नेपाली पनि हुनुहुन्छ । उहाँहरुको यात्रा बैशाख ६ गतेबाट सुरु भएको थियो । २० दिनपछि उहाँहरु झापाको दमक आइपुग्नुभएको हो । पूर्व पश्चिम लोकमार्गमा यात्रा गर्दाको रोचक अनुभव उहाँहरुले सुनाउनुभयो ।

दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँहरुले २० दिने यात्राको वृत्तान्त सुनाउनुभयो । उहाँहरुको भनाई थियो, साइकलमा हामी तीनजना छौं, तर, हाम्रो यात्रामा साथ दिने हजारौं हुनुहुन्छ । छुवाछूत र विभेदको प्रसंगमा कतिपय मानिसले दलित समुदायमा चेतना छैन भन्ने गरेका छन् तर यो सत्य होइन, विभेद गर्नेहरु चाहिँ चेतना नभएका हुन्, उनीहरुमा चेतना जगाउन आवश्यक छ ।

यात्राका क्रममा धेरै मानिसको कुरा सुनेको, समाजको अवस्था बुझेको, कानुन कार्यान्वयन फितलो देखिएको उहाँहरुले सुनाउनुभयो । पत्रकार सम्मेलनमा झापाका दलित अगुवा काशी खातीले साइकल यात्रा गर्ने पत्रकार महिलाहरुले जनचेतना जगाउन तथा समाजलाई झक्झकाउन ठूलो योगदान गरेको बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !